Saturday, October 19, 2024

आजबाट उपत्यका बाहिर पनि २० बर्षे सवारी साधन प्रतिबन्ध

काठमाडौं, १ चैत– सरकारले उपत्यका बाहिर गुडिरहेका बीस वर्ष भन्दा पुराना सवारी साधन संचालनमा बिहीबारबाट प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागले पुराना सवारी साधनका कारण वायु प्रदूषण बढेको ठहर गर्दै चैत १ गतेदेखि त्यस्ता सवारी साधन संचालनमा प्रतिबन्ध लगाएको हो । विभागले निर्णय अटेर गरेर चलाइएका थोत्रा सवारी साधन जफत गरी लिलाम गर्ने योजना पनि बनाएको छ ।

विभागका निर्देशक तुल्सीराम अर्यालले पुराना सवारी साधनका कारण वायू प्रदूषण र दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न देशभरका बीस वर्ष पुराना साधन हटाइएको जानकारी दिए ।

उनका अनुसार उपत्यका बाहिर बीस वर्ष पुराना साधनको संख्या ५ हजार देखि ५ हजार ५ सय छन् ।

उपत्यकामा गत वर्षको फागुनदेखि यस्ता साधन हटाइएको हो । ‘गत वर्ष हामीले उपत्यकाभित्र मात्रै २० वर्ष पुराना सवारी साधन हटाएका थियौं । अब चैतदेखि देशभरका त्यस्ता सवारी साधन हटाईने छ,’ अर्यालले भने ।

विभागले प्रेट्रोलियम पदार्थबाट चल्ने २० वर्ष पुराना गाडीमात्र हटाइने बताएको छ । विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

तीन वटा साधन प्रहरी नियन्त्रणमा

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बीस वर्ष पुराना तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ ।

कार्यालयले बिहान ११ बजेसम्म तीन वटा पुराना सवारी साधन नियन्त्रणमा लिएको बताएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले यातायात व्यवस्था विभागको निर्देशनमा जिल्लाको खैरहनी र गोन्द्राबाट एक÷एक वटा ट्रक र आँपटारीबाट एउटा बस नियन्त्रणमा लिएको जानकारी दिए ।

ताजा समाचार

सम्बन्धित समाचार