काठमाडौं । ‘अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ को अवसरमा महिलाहिंसा विरुद्ध पुरुष पदयात्रा हुने भएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवस, २०१८ लाई सन्देशमुलक बनाउन २२ भन्दा बढी सँस्थाको साझेदारीमा पुरुषहरूको पदयात्रा आयोजना गनृ लागिएको हो ।
महिला हिंसा सबैको आवज बुलन्द भएमात्र महिलाले न्याय पाउन सक्ने हुनाले पुरुषहरुलाई अभियानमा संलग्न गरिएको जारी विज्ञप्तीमा भनिएको छ ।
‘महिलाले न्याय पाउन अत्यन्तै कठिन भइरहेको छ । त्यसैले महिला वा यस क्षेत्रमा कामगर्ने संघसंस्था सँगसँगै अब समाजको सबै पक्ष र खास गरी पुरुषहरूको आवाज बुलन्द हुनु अत्यन्तै आवश्यक देखिएको छ’,विज्ञप्तीमा भनिएको छ, ‘तसर्थ यो सवालमा पुरुषहरूलाई पनि बराबरी हिस्सेदारी बनाउन र महिला अधिकार मानव अधिकार हो भन्ने कुरामा पुरुषहरूको ऐक्यवद्धताका लागि पदयात्रा सन् २०१४ मा सुरु गरिएको हो ।’
महिला अधिकार राष्ट्रिय सवाल हुँदाहँुदै पनि यसमा आवाज महिलाले मात्रै उठाउँदै आएका छन् । यसले गर्दा महिला अधिकारका मुद्दामा थुप्रै उपलब्धि हासिल भएपनि यो दिगो हुन नसकेको विज्ञप्तीमा भनिएको छ ।
‘महिलामाथि बलात्कार, घरेलु हिंसा, सांस्कृतिक हिंसाका पक्षमा भइरहेका मेलमिलाप अनि यसले बढाएको दण्डहिनताले समाजमा यस्ता हिंसा दिन प्रतिदिन बढिरहेका छन् ।’
बलात्कार जस्तो गम्भीर अपराधमा प्रहरी र जन प्रतिनिधिको संलग्नतामा मेलमिलाप,२ वर्षको बालिकादेखि ८० वर्षका बृद्धा समेत सुरक्षित नरहेको अवस्था र यस्ता गम्भीर हिंसा,अपराधमा समाजको कमजोर र राज्यको मुलप्रवाहमा समेट्न नसकिएको महिला वर्गले उठाएको आवाज कमजोर भएकाले यस्ता सवालमा पुरुषको संलग्नता जरुरी भएको विज्ञप्तीमा उल्लेख छ ।
आठ मार्चमा हुने यो पदयात्रा काठमाडौंको माइतीघर मण्डलाबाट भद्रकाली, शहिदगेट,बीर अस्पताल हुँदै रत्नपार्कको शान्तिवाटिका पुगेर टुंगिने छ ।
पदयात्राको उद्घाटन संयुक्त राष्ट्रसंघका महासचिवको महिला हिंसा विरुद्ध पुरुष सञ्जालका सदस्य तथा पुर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठले गर्नुहुनेछ ।
पदयात्रापछि कविता वाचन,छाउपडी सम्बन्धि नाटकप्रदर्शन जस्ता कार्यक्रम गरिने विज्ञप्तीमा उल्लेख छ । यो दिवस विश्व भर नै आठ मार्चमा मनाउँदै आएको छ ।
पदयात्रामा सहभागीलाई प्याड वितरण गरिने
अन्तर्राष्ट्रिय महिला दिवस २०१८’ को अवसरमा पदयात्रामा सहभागी पुरुषलाई प्याड वितरण गरिने भएको छ । महिनाबारीका बेला महिलाको स्वास्थ्यलगायत महिनावारी स्वच्छतामा पुरुषलाई अझै जिम्मेवार बनाउन सहभागी सबै पुरुषलार्ई महिलाले महिनावारीमा लगाउने प्याड वितरण गरिने आयोजकहरले बताएका छन् ।
‘प्याड पदयात्रामा सहभागीले आफ्ना दिदीवहिनी,साथी श्रीमती र आमालाई उपहारस्वरुप दिनेछन् । महिनावारीलाई नितान्त व्यक्तिगत र गोप्य बिषय बनाएको अवस्थामा यसको स्वच्छता प्रभावकारी नभएको र यस लाई लाजको विषय बनाइएकाले यस्तो प्रबृत्ति तोड्न प्याड वितरण गर्न लागिएको हो’विज्ञप्तीमा भनिएको छ ।