Friday, November 8, 2024

बाघको आक्रमणबाट नौ गाई मरे

कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ मा राखिएका छाडा गाईमाथि बाघले आक्रमण गरी मार्न थालेको छ।

गएराति मात्रै छावासहितको पोथी बाघले आक्रमण गरी नौ वटा गाईलाई मारेको छ। वैजनाथ सामुदायिक वन क्षेत्रमा व्यवस्थित गर्न राखिएका गाई माथि बाघले आक्रमण गरी मारेको वडा अध्यक्ष बहादुरसिंह महराले बताए।

बाघले दिउँसोसमेत वन क्षेत्रमा चर्न पठाइएका गाईमाथि आक्रमण गरी मार्न थालेको छ उनले भने, “राति गाई राखेकै ठाउँमा छिरेर ठूलो नोक्सानी पुर्याउन थालेको छ।”

बाघ भगाउनका लागि गोठाला राखिएका भए पनि गाई जोगाउन निकै मुश्किल हुन थालेको उनले बताए।

डमरुसहितको बाघ भएकाले भगाउन खोजे पनि भाग्नुका साटो उल्टै गोठालामाथि आक्रमण गर्न आउने गरेको छ। दुई साताअघि पनि ११ वटा गाई एकैरात बाघले मारेको थियो। नगरपालिका क्षेत्रमा छाडा छाडिएका गाई व्यवस्थापनका लागि सामुदायिक वनमा राखिएको छ। सामुदायिक वनका तीन ठाउमा झण्डै एक हजार गाईलाई राखिएको जनाएको छ।रासस

ताजा समाचार

सम्बन्धित समाचार