Friday, November 8, 2024

नेपालगञ्ज ल्याण्डफिल साइड : २८ महिनामा ७० प्रतिशत निर्माण

नेपालगञ्ज – नेपालगञ्जको फोहाेरमैला व्यवस्थापनका लागि फोहोर सङ्कलन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण भइरहेको छ । फोहाेर सङ्कलन केन्द्रको काम २८ महिनामा ७० प्रतिशत पूरा भएको छ ।

विसं २०७३ भदौमा एशियाली विकास बैङ्क र नेपालगञ्ज उपमहानगरपालिकाअन्तर्गतको एकीकृत शहरी विकास आयोजनाबीच सम्झौता भई काम शुरु गरिएको हो। तोकिएको समयमा निर्माण पूरा नभएपछि नौ महिना थप गरिएको छ। करीब १३ बिगाहा क्षेत्रफलमा निर्माण भइरहेको फोहाेर सङ्कलन केन्द्र निर्माण भएपछि नेपालगञ्जको फोहाेरमैलालाई सहजै व्यवस्थापन गर्न सकिने नगर उपप्रमुख उमा थापामगरले बताए।

कूल लागत रु ३३ करोड ८८ लाख २७ हजारमा एकीकृत शहरी विकास आयोजनाले २० महिनामा निर्माण गर्ने गरी रेमकी एण्ड एन ए एन सी जेभि कुलेश्वरलाई सम्झौता गरी निर्माणको जिम्मा दिइएको छ।

दैनिक २४ टन फोहर भण्डारण गर्ने क्षमता भएको ल्याण्डफिल्डमा फोहाेर ल्याएपछि पहिले कुहिने खालको फोहरबाट कम्पोष्ट मल तयार गरिनेछ र नकुहिने फोहर सेलमा राखेर माटोले च्यापेर राख्ने नेपालगञ्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसीले बताए। केन्द्रमा सङ्कलन हुने फोहाेरबाट तयार गरिएको कम्पोष्ट मल बिक्री गरेर फोहाेरलाई मोहरमा परिणत गर्ने नगरपालिकाको योजना छ।

ताजा समाचार

सम्बन्धित समाचार