Friday, September 20, 2024

गाडीबाट सडकमा फोहोर, नियमन कसले गर्ने ?

काठमाडौं–सरकारले सार्वजनिक सवारीसाधनमा अनिवार्यरूपमा फोहोर क्याँक्ने भाँडा (डस्टवीन) राख्नुपर्ने व्यवस्था गरेको छ। तर, यो व्यवस्था लागु भएको करीब दुई वर्ष वित्न लाग्दा समेत कार्यान्वयन हुन सकेको छैन।

काठमाडौं उपत्यका लगायत देशभर सञ्चालन हुने करीब ३ लाख बढी सवारीसाधन गुड्छन। तर, तीमध्ये अधिकांशले डस्टवीन राख्ने अनिवार्य व्यवस्थाको उल्लंघन गरेको बताइन्छ।

छोटो तथा लामो दूरीमा चल्ले बसबाट यात्रा गर्ने क्रममा झ्यालबाट सडकमा पानीका बोतल, चाउचाउ, बिस्कुटका खोल जथाभावी फ्याँक्दा प्रदूषण बढेको भन्दै त्यसलाई रोक्न सरकारले सवारीसाधनमा अनिवार्य डस्टवीन राख्नुपर्ने व्यवस्था गरेको थियो।

लामो दूरीमा चल्ने सार्वजनिक सवारीसाधनमा हरेक तीन घण्टाको फरकमा चालक, सहचालकले यात्रुलाई डस्टवीनको प्रयोग गर्न अनुरोध गर्ने र गाडीमा सूचना टाँस गर्ने तथा यात्रुले फालेको फोहोर तोकिएको ठाउँमा मात्रै विसर्जन गर्नुपर्ने व्यवस्था भएपनि कार्यान्यवन हुन सकेको छैन।

यात्राको क्रममा राष्ट्रिय निकुञ्ज क्षेत्र पुगेपछि मात्रै सहचालकले बाहिर फोहोर नफाल्न यात्रुलाई सचेत गराउने गरेपनि अन्य स्थानमा फोहोर सडकमै फाल्ने गरेको पाइन्छ।

यसरी यात्रुहरूले सवारीसाधनबाट सडकमा फोहोर फाल्दा सडकको छेउछाउमा फोहोर जम्मा हुने गरेको छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले सार्वजनिक सवारीसाधनले डस्टवीन अनिवार्य राख्नुपर्ने बताए। उनले सार्वजनिक यातायातमा अनिवार्य डस्टवीन राख्ने भनिए पनि राखे–नराखेकोबारे अनुगमन नभएको स्वीकार गरे।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला पनि बसमा अनिवार्य डस्टवीनको राख्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्छन्।

शुरूमा सबै बसहरूले यो व्यवस्थाको पालना गरेपनि निरन्तर अनुगमन हुन नसकेको बताए । ‘यसमा हाम्रो पनि कमजोरी छ। यात्रु तथा बसले पनि सचेत हुन आवश्यक छ,’ उनले भने, ‘छोटो तथा लामो दूरीमा चल्ले सवारीसाधनले डस्टवीन राख्न छाडेका छन्। तर,कारवाही पक्ष फितलो छ।’

त्यसैगरी महानगरी ट्राफिक प्रहरीका सहप्रवक्ता दामोदर सिलवालले बसलाई सफा र अनिवार्यरूपमा डस्टवीन राख्न पटक–पटक आग्रह गरिएको बताए। ‘फोहोर नगर्ने तथा बसलाई सफा राख्न चालक तथा सहचालकलाई भनिराखेका छौं,’ उनले भने, ‘तर, अनुगमन भएको छैन।’

जथभावी फोहोर फाल्नेलाई स्थानीय सरकारले जरिवाना पनि गर्न सक्छन्। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यका अनुसार अभियान सञ्चालनताका काठमाडौं महानगरभित्र चल्ने बसमा फोहोर संकलनका लागि डस्टवीन समेत वितरण गरिएको थियो। तर, गाडीबाट फोहोर फाल्न क्रम नरोकिएको उनले बताए। ‘अहिले पनि केही बसमा डस्टवीन राख्ने गरिएको छ। डस्टवीन नराख्ने सार्वजनिक गाडीलाई कारवाहीको दायरामा ल्याउन सकेका छैनौं,’ उनले भने।

सरकारले १ पुस २०७३ देखि सार्वजनिक बस, मिनिबस, माइक्रोबस, टेम्पो लगायतमा सवार यात्रुका लागि फोहोर फाल्न डस्टवीन वा सरकारले तोकेको गुणस्तर पोलिथिन थैली अनिवार्य राख्नुपर्ने व्यवस्था लागु गरेको थियो ।

यस्तो व्यवस्थाको उल्लंघन गरेमा फोहोर गर्ने व्यक्ति, संस्था तथा सार्वजनिक यातायातका चालक तथा सहचालकलाई फोहोरमैला व्यवस्थापन सम्बन्धी ऐन २०६८ बमोजिम कसुर हेरी पाँच सयदेखि पाँच हजार रूपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ।

ताजा समाचार

सम्बन्धित समाचार