Friday, September 20, 2024

मौलाकाली केबलकारको ईआईएमा के छ ?

काठमाडौं–वन तथा वातावरण मन्त्रालयले नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–१ स्थित धार्मिक पर्यटकीयस्थल मौलाकाली मन्दिर क्षेत्रमा केबलकार निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत गर्नुअघि रायसुझाव मागेकाे छ।

धारापानी टोलदेखि मौलाकाली मन्दिर परिसरसम्म ६ दशमलव ५ हेक्टर जमिनमा प्रस्ताव गरिएको केबलकार योजनाका लागि  ईआईए स्वीकृतकाे प्रक्रियामा छ।

प्रस्तावित ईआईए प्रतिवेदनमा उल्लेख भएअनुसार ६ दशमलव ०९२३ हेक्टर जंगल र ० दशमलव ४०७७ हेक्टर आयोजनाको जमिनमा निर्माण हुने केबलकारको लागत ४० करोड ६८ लाख ३५ हजार रुपैयाँ रहेको छ।

उक्त वनक्षेत्रका एक सय ९८ रुख कटान गर्नुपर्ने र त्यसबाट १३ हजार एक सय ४० दशमलव ५५९ क्युफिट काठ उत्पादन हुने अनुमान ईआईएमा प्रस्ताव गरिएकाे छ। यसको निर्माणको जिम्मा गैँंडाकोट मौलाकाली केबलकार प्रालिले पाएको छ।

वन तथा वातावरण मन्त्रलायका सूचना अधिकारी सुमन सुवेदीका अनुसार र्इअार्इए पेश भएकाेमा मन्त्रालयले रायसुझाव माग गरेकाे छ। ‘र्इअार्इए स्वीकृत भइसकेकाे छैन। पेश भएकाे प्रतिवेदनमा राय सुझाव माग गरिएकाे हाे। साेही अाधारमा  करेक्सन गरिनेछ0,’ सूचना अधिकारी सुवेदीले भने।

केबलकारबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमालको मनमोकह दृष्य अवलोकन गर्न सकिने जनाइएको छ। प्रस्तावित ईआईएमा भनिएको छ, ‘आयोजनाले देशको व्यापार तथा पर्यटन अभिवृद्धिका साथै राजश्व संकलन गर्नेछ।’

पाँच हजार बोटबिरुवा रोप्नुपर्ने
केबलकार आयोजना गैंडाकोट नगरपालिका–१ स्थित चुरे संरक्षण क्षेत्रमा पर्छ। प्रस्तावित र्इअार्इए अनुसार केलबकारका लागि साल, जामुन, करम, दबदबेका एक सय ९८ पोल आकारका रुख कटान गर्दा सोधभर्ना बापत चार हजार नौ सय ५० बोटबिरुवा रोप्नुपर्ने छ।

ईआईएमा भनिएको छ, ‘वन निर्देशिका अनुसार क्षति भएका एक सय ९८ पोल आकारका रुखहरुको सट्टामा १ः २५ का दरले वृक्षरोपण गर्नुपर्नेछ। वृक्षरोपण पश्चात पाँच वर्षसम्म संरक्षित गरी वन सम्बन्धित निकायलाई हस्तान्तरण गरिनेछ।’ यद्यपी, वृक्षरोपण गर्नुपर्ने वन क्षेत्र सम्बन्धित वन कार्यालय र मौलाकाली सामुदायिक वनले निर्धारण गर्ने प्रस्तावित ईआईएमा उल्लेख छ।

वातावरणीय प्रभाव
ईआईए अनुसार मौलाकालीमा केबलकार निर्माण गर्दा त्यहाँ रहेका हेलिप्याड स्थानान्तरण गर्नुपर्ने देखिन्छ। यसैगरी ईआईएमा अगाडि भनिएको छ, ‘भारी मेसिनहरुको प्रयोगबाट ध्वनिको मात्रामा वृद्धि हुन सक्नेछ। आयोजनाको निर्मँणका कारणले खुला रुपमा निर्माण सामग्रीको भण्डारण गर्दा आयोजना वरपरको प्राकृतिक दृष्यमा नकारात्मक असर पर्नेछ।’

आयोजना संचालनका क्रममा निस्कने फोहोरमैलाको उचित व्यवस्थानमा कमी आउन सक्ने आँकलन गरिएको छ, भने आयोजनामा काम गर्ने कामदारका लागि खाना पकाउन दाउरा र अन्य बस्तुको लागि वन क्षेत्रको प्रयोग हुनसक्नेतर्फ सचेत ईआईएले सचेत गराएको छ। ‘वन क्षेत्रबाट जनावर र चराचुरुङ्गीको चोरीशिकार हुनसक्नेछ। जडिबुटीको अवैध संकलन हुनसक्नेछ। वन क्षेत्रको अतिक्रमण हुनसक्नेछ,’ ईआईएमा भनिएको छ।

प्रस्तावित र्इअार्इएकाे पूर्णपाठ हेर्नुहाेस्

ताजा समाचार

सम्बन्धित समाचार