उद्यमशील बन्दै महिला

काठमाडौँ– चितवन–भरतपुर महानगरपालिका–१७ की अनिता थापाले बङ्गुर पालन र अदुवाखेतीबाट मासिक करीब रु ६० हजार आम्दानी गर्छिन्।

दलित महिला उत्थान सङ्घ (एड्वान) को आर्थिक सहयोगमा अनिताले बङ्गुर पालन व्यवसायसँगै भुइकटहर, अदुवा, बेसार र मौसमअनुसारका तरकारी खेतीसमेत गर्दै आएकि हुन् । “बङ्गुर मासुको लागि बिक्री हुन्छ, बङ्गुरको एउटा पाठोलाई करीब रु छ हजार पर्छ, एक पटकमा बङ्गुरले करीब १२र१३ पठापाठी जन्माउँछ, अहिले मसँग चार माउ बङ्गुर छन्, बङ्गुर मात्रै पाल्ने हो भने पनि राम्रो आम्दानी गर्न सकिन्छ”, उनले भनिन् ।

गोरखा–फुजेल गाउँपालिका–४ की विना श्रेष्ठले पनि एक याममा तरकारीबाट कम्तिमा रु ५० हजार आम्दानी गर्दैै आएकि छन् । गत वर्ष मात्रै कुखुरा बेचेर रु एक लाखभन्दा बढी नाफा कमाउनुभएकी उनले कृषक जनजागृति समूह गठन गरेर त्यहाँ पैसा जम्मा गर्ने र आवश्यक मात्रामा झिक्ने गर्दै आएकि छन्।

आजभन्दा ७र८ वर्ष पहिले शुरुमा एड्वानले कुखुरा पालन र च्याउखेतीका लागि तालीमसँगै सस्तो व्याजमा लगानीसमेत गरिदिएपछि विनाले आफ्नो व्यवसाय शुरु गरेकि हुन्। रु २० हजार लगानीबाट कुखुरा पालन व्यवसाय शुरु गर्नुभएकी विनाले अहिले दुई हजार लेयर्स कुखुरा पालेकि छन् । उनले कुखुरा मात्रै होइन, काउली, बन्दा, आलु र प्याजलगायत मौसमअनुसारका तरकारीबाट समेत मनग्य आम्दानी गर्दै आएकि छन् ।

एड्वानले अझै सहयोग गरेका खण्डमा आफ्नो व्यवसायलाई अझै बढाउने मन छ विनाको । शुरुमा कुखुराको खोर बनाउन करीब रु १२ लाख खर्च लागेको हुँदा अहिले विनाको पैसा जोगिएको छैन । उनकै देखासिकी गरेर फुजेलका अन्य महिलाले समेत सानोतिनो भए पनि व्यवसाय गरेर आत्मनिर्भर हुन थालेका छन् ।

“हामीले ग¥र्र्यौ भने नसक्ने केही पनि रैनछ, गर्न सके स्वदेशमै कृषि पेशाबाटै राम्रो आम्दानी गर्न सकिन्छ, कोही पनि नेपाली विदेश जानु पर्दैन”, विनाले भनिन् । गोरखा–शहीद लखन गाउँपालिकाकी सीता नेपालीले पनि सिलाइबुनाइको तालीमपछि त्यही पेसाबाट अहिले मासिक रू १५ हजार आम्दानी गर्छिन् । गोरखाकी विना, सीता र चितवनकी अनिता मात्र होइन, बागलुङकी शिल्पा रुचालले पनि एड्वानको सहयोगमा विभिन्न व्यवसाय गरेर आत्मनिर्भर बनेका छन् । उक्त संस्थाले ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनका सीपसमेत सिकाउँदै आएको छ । एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसाय गर्न आर्थिक सहयोगसमेत गर्दै आएको छ ।

विसं २०५५ मा स्थापना भएको उक्त संस्थाले विपन्न समुदायका महिलालाई उद्यमशील बनाउनुका साथै अर्घाखाँची, गोरखा, चितवन, बागलुङ र तनहुँलगायत जिल्लामा आर्थिक अवस्था कमजोर भएका हजारभन्दा बढी विपन्न समुदायका विद्यार्थीलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ । “यो संस्था स्थापना भएदेखि नै महिलालाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ, र विपन्न समुदायका विद्यार्थीलाई कसरी विद्यालयको पहुँचसम्म पु¥याउन सकिन्छ भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ”, एड्वानकी अध्यक्ष पम्फा परियारले भनिन् ।

यो वर्ष मात्रै कक्षा ११ र १२ का अति विपन्न, जेहेन्दार, दलित तथा उत्पीडनमा परेका समुदायका करीब १०० भन्दा बढी विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको यस संस्थाले विसं २०५९ देखि २०६८ सम्म विद्यालय पोशाक वितरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । जसबाट गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएका थिए ।

भर्खरै चितवनमा सम्पन्न एड्वानको १९औँ साधारणसभाले आगामी दिनमा आफ्नो कार्यसम्पादनमा परिवर्तन ल्याउनुका साथै केन्द्रदेखि स्थानीय तहसम्मका पुराना कार्यक्रम पद्धतिलाई परिवर्तन गर्नाका साथै केन्द्र र समुदायबीच समन्वयत्मक भूमिका निर्वाह गर्ने नीति लिएको छ । उक्त संस्थाले आर्थिक वर्ष २०७५र७६ मा गोरखा, तनँहु, बागलुङ, अर्घाखाँची र चितवन जिल्लामा शाखा कार्यालयसमेत खोल्ने भएको महासचिव विन्दु परियारले जानकारी दिइन् । राज्यको मूलधारबाट पछाडि परेका गरीब, दलित, महिलालगायत अति सिमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक रूपमा सशक्त बनाउनु एड्वानको मुख्य उद्देश्य रहेको छ ।

उक्त संस्थाले गरीब, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि पैरवी, महिला नेतृत्व विकासका साथै बालिका तथा महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने विषयलाई मुख्य रूपमा अगाडि बढाउँदै आएको छ ।रासस

ताजा समाचार

सम्बन्धित समाचार