मुसिकोट–रुकुम पश्चिमको चौरजहारी विमानस्थलमा पुनः हवाई सेवा शुरु भएको छ। सत्र महिनादेखि रोकिएको विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले बुधबारबाट उडान शुरु गरेको हो । हप्ताको दुई दिन बुधबार र विहीबार उडान हुने गरी चौरजहारी विमानस्थल पुनः सञ्चालनमा आएको स्टेशन प्रमुख सुरेन्द्रबहादुर नेपालीले बताए। उनका अनुसार बुधबार काठमाडौँ–चौरजहारी–नेपालगञ्ज तथा विहीबार नेपालगञ्ज–चौरजहारी–काठमाडौँ उडान हुने बताइएको छ ।
उडान शुरु भएको पहिलो दिन चौरजहारीबाट एक बिरामीसहित आठ जनाले नेपालगञ्जसम्मको हवाईयात्रा गरेका छन्। झण्डै डेढ वर्षपछि यहाँको हवाईसेवा सञ्चालनमा आउँदा सर्वसाधारणमा खुशी छाएको छ। हवाई सेवाले रुकुम पश्चिमलगायत छिमेकी जिल्ला जाजरकोट, सल्यान र डोल्पाका नागरिकलाई छिटो यात्राका लागि सहज गराएको छ। निगमको जहाजले पुनः उडान शुरु गरेसँगै यहाँको नयाँ भाडादरसमेत कायम गरिएको छ। अबदेखि चौरजहारीबाट काठमाडौँका लागि रु आठ हजार र नेपालगञ्जलाई रु तीन हजार भाडादर निर्धारण गरिएको स्टेशन प्रमुख नेपालीले जानकारी दिए।
यसअघि नेपाल वायुसेवा निगमसँग पर्याप्त जहाज र पाइलट नभएको भन्दै गत वर्षको जेठ अन्तिम साताबाट यहाँको उडान बन्द गरिएको थियो । बन्द हवाईसेवा सञ्चालनका लागि जिल्लाका सरोकारवाला निकाय, स्थानीय सरकार तथा निर्वाचित जनप्रतिनिधिले सम्बन्धित पक्षसँग पहल गर्दै आएका थिए । विसं २०२८ बाट सञ्चालनमा आएको उक्त विमानस्थलको थप स्तरोन्नतिका लागि पाँच वर्षअघि धावनमार्गमा कालोपत्रे गरिएको थियो ।रासस





