काठमाडौं– बडादशैँका बेला मान्यजनका हातबाट टीका , जमरा तथा प्रसाद ग्रहण गर्ने गरिन्छ ।
दुर्गाभवानीको प्रसाद स्वरुपका टीका र जमरा ग्रहण गर्ने क्रममा विभिन्न संस्कृतका मन्त्रहरु उच्चारण गर्ने गरिन्छ ।
मन्त्रहरुसँगै विभिन्न आर्शिवाद पनि दिने चलन छ ।
संस्कृतका मन्त्रहरुमा धन , मान , ऐश्वर्य , बल , आयु , स्वास्थ्य , ज्ञान , शान्ति मनोकामना पुर्ण लगायतका सुभेच्छा सहित आर्शिवाद दिने गरिन्छ । विभिन्न मन्त्रहरु भएपनि नेपाली समाजमा दुईवटा मन्त्र बढि प्रचलित छ ।
आयु द्रोणसुते श्रीयो दशरथे भन्ने मन्त्र पुरुषहरुलाई टीका लगाइदिदा उच्चारण गर्ने मन्त्र हो । यसैगरी जयन्ति मंगला काली भद्रकाली कपाली भन्ने मन्त्र महिलालाई टीका लगाइदिदा उच्चारण गर्ने गरिन्छ ।
पुरुषलाई टीका लगाईदिदा उच्चारण गर्ने दिने मन्त्र या आशिषः
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
आयु द्रोणसुते भनेको द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु होस् भन्ने हो । अष्ट चिरन्जीवी मध्ये एक पर्ने अस्वत्थामाको आयु यो ब्रम्हाण्ड रहुन्जेल भएको पुराणमा उल्लेख छ ।
मन्त्रका क्रममा श्रीयो दशरथे भन्नाले दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस् भन्ने कामना हो । यसैगरी शत्रुक्षयं राघवे भनेको भगवान् रामको जस्तो शत्रु नाश होस् भन्ने हो ।
रामका शत्रु सबैको नाश भएजस्तै टीका थाप्नेहरुको पनि शत्रुहरु नाश होउन् भन्ने शुभेच्छा हो । ऐश्वर्यं नहुषे भनेको नहुष राजाको जस्तो खुसी ऐश्वर्य होस् भन्ने हो ।
जिवनमा सधै हाँसी खुसी रहनुपरोस् , दुख नपरोस् , मनमा आनन्द होस् भन्ने कामना मन्त्रमा उल्लेख गरिएको छ । यसैगरी गतिश्च पवने भन्नाले पवन पुत्र हनुमानको जस्तो गतिशीलता होस् भन्ने हो ।
हनुमानको गति यति छिटो थियो की उनले आफ्नो गतिमा लाखाँै कोस समुन्द्रपारी लंका पुगेर माता सीताको पत्ता लगाएका थिए । अहिलेको आधुनिक युगमा पनि उनै हनुमानको जस्तो गतिका साथ हामी मानव अगाडी बढ्नुपर्छ ।
टीका थाप्ने मन्त्रमा मानञ्च दुर्याेधने पनि भनिन्छ । यसको अर्थ दुर्याेधनको जस्तो मान हुन सकोस् भन्ने हो ।
दुर्योधनले आफुले मान्नुपर्ने र पाहुनालाई धेरै मानसम्मान दिने गरेको महाभारतमा उल्लेख छ । यसैगरी दानं सूर्यसुत भनेको सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस् भनेको हो । अ
हिलेको युगमा दान महत्वपुर्ण छ । कसैका लागी सानो दान पनि महत्वपुर्ण हुनसक्छ तसर्थ द्धापर युगमा कर्णले दान गरेजस्तै हुनु भनेर आर्शिवाद दिइने चलन छ ।
कर्णले आफुलाई जस्तै दुख पर्दा पनि दान गर्न छोडेका थिएनन् ।
बलं हलधरे भन्नाले हलो बोकेर हिड्ने कृष्णका दाजु बलरामको जस्तो बल होस् भन्ने कामना पनि गरिन्छ । बल वीना कसैको अस्तीत्व हुँदैन । अहिलेको समाजमा मुडे बल मात्र नभई बुद्धि सहितको बल चाहीन्छ ।
यसैगरी सत्यञ्च कुन्तीसुत भनेर टीका जमरा लगाउँदा मान्यजनले आशीस दिन्छन् ।
यसको अर्थ कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता होस् भन्ने हो । सत्य बलवान छ , सत्य कहिल्यै लुक्दैन र सत्य जसले गर्छ त्यो सफल हुन्छ ।
युधिष्ठीरले पनि जिवनमा सत्य मात्रै बोले र ब्यवहारमा पनि उतारे । जसका कारण असत्यका प्रतिक कौरब पराजीत भए ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे भन्नाले विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भनी मान्यजनबाट आशीवाद दिने गरीन्छ ।
महिलालाई टिका लगाइदिदा भन्ने आशिर्बाद
ॐ जयन्ति मंगला कालि,भद्रकालि कपालिनि ।
दुर्गा क्षमा शिवा धात्रि, स्वाहा स्वधा नमोस्तु ते ।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने मान्यता नेपाली समाजमा छ । पुर्व या पश्चिम फर्किएर टीका ग्रहण गर्दा राम्रो हुने मान्यता छ ।
दशैँमा रातो टीका र जमरा लगाउने गरिएपनि कुनै कुनै समुदायले भने सेतो टीका पनि लगाउने गर्छन् । रातो र सेतो शान्ति र समृद्धिको प्रतीक हो । टीकाले मन, मस्तिष्क, विचारलाई शुद्ध चेतनायुक्त बनाउँछ ।
यसपाली टिकाको उत्तम साइत कार्तिक २ गते शुक्रबार विहान ९ बजेर ५१ मिनेटमा रहेको छ ।
देवी विसर्जन मन्त्र
नवरात्रभर देवीलाई पुजा आजा गरि विजया दशमीका दिन विसर्जन गरिन्छ ।
देवी विर्सजन २ कार्तिक शुक्रबार विहान ९ बजेर ३९ मिनेटमा उत्तम साइत रहेको छ । देवी विसर्जनका बेला पनि निम्न मन्त्र उच्चारण गरिन्छ ।
’आवाहनं नजानामि नजानामि विर्जसनम् ।
पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी।
इमां पूजां मया देवी यथाशक्त्या निवेदितम्।
रक्षार्थ त्वत्प्रसादाय व्रज स्वस्थानमुत्तमम्।।’
यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ।
घरका जेष्ठ ब्यक्तिले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई प्रसाद तथा दक्षिणा दिई आशीर्वाद ग्रहण गरिन्छ।अनि सपरिवार नातेदारकहाँ तथा मान्यजनकहाँ दसैँको टीका लगाउन जाने परम्परा छ ।
नवदुर्गा पूजा गर्दा भनिने श्लोक
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।
तृतीयं चंद्रघण्टेति कुष्मांडेति चतुर्थकं ।।
पंचमं स्कन्दमातेति, षष्टम कात्यायनीति च।
सप्तमं कालरात्रीति, महागौरीति चाष्टमं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रकीर्तिताः ।।





