काठमाडौं–यो वर्ष बडादसैँको महानवमीका दिन आउने बिहीबार उपत्यकाका तीनै जिल्ला काठमाडौं,भक्तपुर र ललितपुरका तलेजु भवानीको मन्दिर सर्बसाधारण भक्तजनका लागी खुला गरिएको छ ।
भक्तपुर र काठमाडौंका तलेजु भवानीको मन्दिरको चर्चा बढि चलेपनि नवमीका दिनै खुल्ने ललितपुर पाटन दरबार क्षेत्रमा पर्ने तलेजु भवानीको चर्चा कम हुने गरेको संस्कृतिविद् कीर्तिकिरण जोशी बताउछन् ।
काठमाडौं र ललितपुरको भन्दा पुरानो स्थापना गरिएको तलेजु भवानीका रुपमा भक्तपुरकोलाई लिने गरिन्छ ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर सर्बसाधारणका लागी दर्शनको ब्यवस्था मिलाइएको छ ।
हरेक वर्षको महानवमीका दिन मात्र यो मन्दिर सर्वसाधारणका लागि खुला गरिने परम्परा छ । तलेजु भवानीको दर्शन गर्न नवमीका दिन भक्तजनको ठूलो भीड लाग्ने गर्छ ।
तत्कालिन मल्ल राजाको शक्तिको स्रोतका रुपमा तलेजु भवानीलाई लिने गरिन्थ्यो । भवानीको दर्शन गर्न आउने भक्तजनको सुरक्षाका लागि तयारी सुरु भएको हनुमानढोका हेरचाह अड्डाले जनाएको छ ।
अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस , स्काउट आदीले भक्तजनको लाइन देखी लिएर अन्य व्यवस्थापन गरेकाछन् ।
वसन्तपुरको घरमा प्रतिस्थापित जिवीत कुमारीलाई इष्टदेवी तुलजा भवानीको प्रतीकका रूपमा समेत मानिँदै आएको छ ।
काठमान्डौँमात्र नभई भक्तपुरको तलेजु भवानी पनि भक्तजनका लागी नवमीको दिन खुला गरिएको भक्तपुर तलेजु भवानीका मुल नाइके नरेन्द्रराज जोशीले जानकारी दिए ।
तलेजु मन्दिरमा अरू ३६४ दिनमा दैनिक नित्य पूजा हुन्छ र एक दिन सर्व साधारणको पुजाका लागी खोलिन्छ ।
नित्य पुजाका लागि भक्तपुर र ललितपुरमा कर्माचार्य, जोशी तथा राजोपाध्याय पुजारी रहेका छन् ।
काठमान्डौँमा भने कर्माचार्य र जोशी मात्र पुजारी रहेको काठमान्डौँ तलेजु भवानीका मुल नाइके शशि विक्रम ध्वज जोशीले जानकारी दिए ।
सर्वसाधारणका लागि वर्षको एक दिनमात्र खुल्ने भए पनि नित्य, विशेष र वाषिर्क गरी तीन प्रकारको पूजा गरिन्छ ।
बडादसैंंको महाअष्टमीका दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा छ ।
मनोकामना पुरा हुने विश्वासका साथ टाढा टाढा देखीका भक्तजन विहानैदेखी तुलजा भवानीको दर्शन गर्न आइपुग्छन् ।
यो मन्दिरमा दर्शन गरेमा रोग ब्याधीबाट मुक्त भई पारिवारिक सुख सम्बृद्धि मिल्ने जनविश्वास छ ।
काठमाडौं उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला लगायतका स्थानका साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर छ ।
तुलजा भवानी यात्राको साइत कार्तिक २ गते शुक्रबार बिहान ८ बजेर ३५ मिनेटको र स्थिर आसनका लागि त्यसै दिन बिहान ९ बजेर ४४ मिनेटको साइत रहेको नेपाल पन्चाङ्ग निर्णयक समितीले जनाएको छ ।
विसं २०७२ को भूकम्पपछि तलेजु भवानी मन्दिर वरपर क्षती पुगेपनि पुर्ननिर्माण भइरहेको छ ।
भुकम्प गएको वर्षमा पनि मन्दिर दर्शनका लागी सर्बसाधारणलाई रोकिएको थिएन । मन्दिरमा भक्तजनका लागी दर्शन गर्न कुनै अवरोध नभएको मुल नाइके जोशीले बताए ।
भवानीको मन्दिर रत्न मल्लले निर्माण गरेका थिए पछि राजा महीन्द्र मल्लका समयमा जिर्णोधार गरेको मानिन्छ ।
नवरात्रमा शक्तिको उपासना गर्ने परम्परा छ । जस अनुसार मातृशक्ति भगवतीको आरधना प्रत्येक शक्ति पिठ र दशै घरमा हुन्छ ।
उपत्यकामा रहेका प्रमुख शक्ति पिठ मध्ये तलेजु अथवा तुलजा भवानीको मन्दिर पनि एक होृ ।
नेवार समुदायले इष्टदेवीकै रुपमा तुलजा भवानीलाई लिने गरेका छन् । तुलजा भवानीलाई महाशक्ति भगवतीको रुपमा पुजा गर्ने परम्परा मल्ल कालदेखी नै चलेको हो ।
तुलजा भवानीलाई नै भित्राएका थिए– तत्कालिन सिम्रौनगढका राजा हरिहरसिंह देवले – कर्नाटक वंशी राजाहरुले तुलजा भवानीलाई कुल देवीको रुपमा परम्परादेखी नै मान्दै आएका थिए ।
भारतीय मुसलमान शासक गयासुद्दिनले सिम्रौनगढमा आक्रमण गरेपछि हरिहरसिंह, तलेजु भवानीलाई साथै लिएर भक्तपुर आइपुगे ।
भक्तपुरमा विधीपुर्वक देवीको प्रतिस्थापन गरिएपछि काठमान्डौ, ललितपुर लगायतका अन्य राज्यमा पनि तुलजा भवानीलाई स्थापना गरियो ।
मल्ल राजाहरुको इष्टदेवीको रुपमा पुज्न थालेपछि शाहवंशिय राजाहरुले पनि तुलजा भवानीलाई इष्टदेवीकै रुपमा श्रद्धा गर्न थालेको इतिहास छ ।
करिब ३ सय ५५ वर्ष पहिले राजा महेन्द्र मल्लले तलेजु नामकी देवीसँग जुवा खेल्ने क्रममा शारिरीक सम्बन्धको प्रस्ताव गरेपछि देवी अन्तरध्यान भएकी र नवमीका दिन तथा इन्द्रजात्राका दिन मात्र दर्शन दिन आउने गरेको किम्बदन्ति छ ।
विसं १६२० मा राजा महेन्द्र मल्लले भब्य रुपमा पुनःनिर्माण गराएका थिए । पछि प्रताप मल्लले पनि यो मन्दिरको जिर्णेद्धार गरे । प्रताप मल्ललाई तलेजु भवानीले प्रत्यक्ष दर्शन दिएको इतिहास छ ।
विसं १९९० को महाभुकम्पमा परेर मन्दिरको माथील्लो भाग क्षतिग्रस्त भएपछि ९६ सालमा यसको जिर्णोद्धार गरिएको तथ्य भेटिन्छ ।
प्यागोडा शैलिमा निर्मीत ३ तले तलेजु मन्दिर उच्च भागमा रहेकाले पश्चिमी भागमा रहेको सानो तर आकर्षक द्धारबाट प्रवेश गरेर बाह्य सिढी उक्लेपछि पुन पुग्न सकिन्छ । सिढीमा स–साना देवलहरु देखिन्छन् ।
मुल द्धार अगाडी मन्दिरको पहरा दिइरहेका मानिस वा जनावरका मुर्तिहरु छन् । मन्दिरभित्र तुलजा भवानीको आकर्षक मुर्ति छ ।





