पोखरा– पोखरा महानगरपालिका–१७ महतगौंडास्थित ढुङ्गेसाँघु सीतापाइला आमा समूहले रु १२ लाखको लागतमा पक्की भवन निर्माण गरेको छ ।
पोखरा महानगरपालिकाबाट रु तीन लाख आर्थिक सहयोग र समूहको रु नौ लाख खर्च गरेर सो भवन निर्माण गरिएको हो । प्राकृतिक पुल ढुङ्गेसाँघुस्थित सार्वजनिक जग्गामा निर्माण गरिएको उक्त भवनमा सभाकक्ष, कार्यालय र शौचालय रहेको आमा समूहका अध्यक्ष जुना गुरुङले जानकारी दिए ।
टोल छिमेकमा विवाह, व्रतबन्ध, अर्घौँजस्ता शुभकार्यमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर अर्थ सङ्कलन गर्दै आएको जानकारी दिँदै उनले आमाहरुका लागि विभिन्न सङ्घसंस्थामार्पmत तालीम सञ्चालन गर्दा समेत केही रकम बचाइने गरेको बताए । महिलाको सशक्तीकरणका गतिविधि अगाडि बढाउन खाली जग्गामा ट्रस निर्माण गर्ने सोच रहेको बताइएको छ ।
यसैबीचआमा समूहले दशैँतिहार, छठ, नेपाल संवत्, ल्होसारजस्ता पर्वका उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम तथा प्रत्येक माघी पर्वमा सेतीनदीस्थित सीता पाइलाघाटमा स्नान गर्न आउने भक्तजनलाई सखरखण्ड, तरुल, खुदो, चिउरालगायत विभिन्न परिकार निःशुल्क वितरण गर्दै आएको छ । (रासस)





