चंगा उडाउने संस्कृति हराउँदै

काठमाडौं –अहिले गाँउघर या शहरमा चंगा उडाउने संस्कृति धेरै कम हुँदै गएको छ । जसका कारण शहर बजारमा पहिले पहिले किराना पसल देखी तरकारी पसलसम्म पाइने चंगा अहिले आएर बजारमै केही सिमीत पसलमा मात्र भेटिने गरेको छ । अझ लट्टाइ त ठूला बजार या काठको सामान बनाउने स्थानमा अर्डर नै गर्नुपर्छ ।

केही संघ संस्थाले संस्कृति धान्ने निहुँमा चंगा उडाउने कार्यक्रम राखेपनि ब्यक्ति आफैँ नै स्वतः स्फुर्त ढंगले चंगा उडाउने भने अत्यन्त कम महशुस गरिएको धेरैको अनुभव छ । ‘पहिलेभन्दा चंगा उडाउनेको संख्या कम छ,’ ललितपुर गोदावरी नगरपालिकाका दामोदर आचार्यले भने, ‘पहिले–पहिले दसैं लाग्नुभन्दा महिना दिन अघिदेखि नै आकाशमा चंगाको भिड हुन्थ्यो ।’

करिब ४०औं बसन्त पार गरिसकेका उनले पछिल्लो १० वर्षमा चंगा उडाउनेको संख्या ज्यादै कम हुँदै गएको सुनाए । यद्यपि, गएको वर्षभन्दा भने यसपाली भने छिटपुट चंगा उडाएको भेटिएको बागडोलका गेहेन्द्र अज्र्यालले बताए ।
‘यसपाली फाट्टफुट्ट चंगा उडाएको देखियो,’ उनले भने, ‘तुलनात्मक रूपमा १० वर्षमा भने चंगा प्रयोग घटेको छ ।’

विश्वमा धार्मिक, सामाजिक ,वैज्ञानिक उद्देश्यले तथा मनोरञ्जन लिन चंगा उडाउने चलन भएपनि नेपालमा भने दसैं–तिहारलगायतका चाडपर्व आएको संकेत यसले दिने गर्छ ।

चंगा उडाउनुलाई शुभकार्यका रूपमा पनि लिइन्छ । गाउ“घर र शहरमा पहिलोजस्तो खुला ठाँउ नहुनुले पनि पहिलेको भन्दा चंगा उडाउनेको संख्या घटेको गोर्कणेश्वर नगरपालिका रामन भण्डारीको ठम्याई छ ।

‘पहिला–पहिला खाली जग्गा चौर थिए, चंगा उडाउन ठाँउ हुन्थ्यो, अहिले ठुला घर बनेका छन्,’ उनले भने, ‘पहिले खेल्ने साधन पनि अरु थिएन, अहिले धेरै अरु चिज छन् ।’
लोककथा वा किंवदन्तीअनुसार वर्षायाममा धेरै पानी परिसकेको हुने र धान पाक्ने बेला भइसकेको हुने हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिँदैन भन्ने सन्देश चंगा उडाएर पठाएको मानिन्छ। चंगा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास पनि छ ।

दसैंभन्दा ठ्याक्क अगाडीदेखी चंगा उडाउने चलन रहेको भनाई चल्दै आएको छ । आजभन्दा २० वर्ष अघिसम्म न्यौपानेगाँउका रमेशचन्द्र न्यौपाने पनि चंगा धेरै उडाउथे ।विस्तारै उमेर बढ्दै गएपछी उनले चंगा उडाउन छोडे । ‘हामी पहिला थुप्रै चंगा उडाउथ्यौं, धागोमा माडा लगाएर आकाशमा उडेका अरु चंगालाई काटिन्थ्यो,’ उनले पुराना दिन सक्झि“दै भने, ‘त्यो बेला चंगा उडाउने कम्डििसन नै चल्थ्यो ।

चंगा चेट, चंगा काटजस्ता आवाज धेरै सुन्ने गरिएको थियो ।’ घरको कौशी नभएर पारी गाँउमा गएर चंगा उडाएको संझना फर्पिङका मधुसुधन अर्जेलको छ । ‘त्यतिबेला घरबाट उडाउन मिल्दैनथ्यो, पारी गाउ“को खुला ठाँउबाट चंगा उडाइन्थ्यो,’ उनले भने, ‘चंगामा पुच्छर हालिन्थ्यो, धानको मसिनो नलसमेत बाँधिन्थ्यो ।’

अहिलेका बालबालिकाको मोबाइल, कम्प्युटर, ल्यापटपलगायतका मनोरञ्जनका माध्यमतिर धेरै ध्यान जाँदा चंगाको आर्कषण घटेको धेरैको बुझाई छ ।

‘अहिलेका मान्छे खेलका लागि अरु माध्यमतर्फ आकर्षित छन्,’ बुटबल घर भई हाल शंखमुल बस्ने डोलराज पौडेल भन्छन्, ‘कम्प्युटर, मोबाइल गेम, घुमघाम तथा अरु मनोरञ्जनका माध्यममा उनीहरू लागेका छन्, जसले् गर्दा चंगा कम उड्छ ।’

पहिलेको तुलनामा अहिले सहर–बजारमा त्यति चंगा, लट्टाइ“, धागो पाइ“दैन । ‘पहिले त हरेकजसो पसलमा चंगा, लट्टाइ“ धागो पाइन्थ्यो,’ सञ्जय लामा भन्छन्, ‘अहिले त जहाँपायो त्यही पाइँदैन, विशेष स्थानमा मात्र चंगा बेच्न राखेको हुन्छ ।’

कुसुन्तीका सन्दीप विकलाई चंगा उडाउन मन लागे पनि अग्ला घरका कारण उडाउन कठिन भएको छ । ‘अगाडी अग्ला अग्ला घर छन्,’ उनले भने, ‘कसरी चंगा उडाउने ?’

विभिन्न देशमा चंगा

केही व्यक्ति चंगालाई पृथ्वी र स्वर्गबीचको सम्पर्क कडीका रूपमा लिन्छन् । चीनमा चंगा उडाउनुलाई दुष्टात्मा धपाउने प्रयासका रूपमा लिइन्छ । जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चंगा उडाउने चलन छ । हाँका पिताले छोराका नाममा चंगा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्दछन् । यसलाई जापानी वंश परम्परालाई अगाडि बढाउने प्रतीकका रूपमा मान्दछन् ।

कोरियामा चंगाको उपयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ। कोरियाली चान्द्र पात्रोअनुसार नयाँ वर्षको पूणिर्माको राति दुर्भाग्य भगाउन तथा सौभाग्य ल्याउनका लागि ठूलो चंगामा ’अशुभ जाओस्’ लेखेर  आकाशमा उडाउँछन् । आकाशमा उडिरहेको चंगाको धागोलाई काटिदिन्छन् ।

उनीहरूको विश्वास छ, त्यो चंगासँगै उनीहरूको दुर्भाग्य पनि आकाशमा जान्छ र सौभाग्य नजीक आउँछ । श्रीलंका र थाइल्यान्डमा चंगाको माध्यमबाट स्वर्ग र पृथ्वीबीच सम्पर्क हुन्छ र मृत्युपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासमा चंगा उडाइन्छ ।

ताजा समाचार

सम्बन्धित समाचार