प्रहरीको निशुल्क बस सेवा सुरु

काठमाडौं–नेपाल प्रहरीले बडादशैंको अवसरमा निशुल्क बस सेवा दिन सुरु गरेको छ ।

अष्टमीदेखि विजया दशमीसम्म तीन दिन प्रहरीले काठमाडौंमा निशुल्क बस सेवा दिन सुरु गरेको हो ।
विहान ११ देखि ४ बजेसम्म काठमाडौंको विभिन्न तीनवटा रुटमा निशुल्क बस सञ्चालन भएको प्रहरीले जनाएको छ ।

नक्शालबाट छुटेर आएको बस पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्ने छ ।

त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, वालुवाटार हुँदै नक्शालसम्म पुग्ने प्रहरीले बताएको छ ।

तेस्रो रुटमा नक्शालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्शालसम्म नै पुग्ने प्रहरीले जनाएको छ ।

प्रहरीले नवमी र विजया दशमीको दिन पनि सोहि समयमा सोहि रुटमा निशुल्क बस सेवा दिने प्रहरीले जनाएको छ ।
यसै गरि नेपाली सेनाले भने कार्तिक २ गते टिकाको दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन न्युन चल्ने भएकाले सबैको सुविधाका लागि ८ वटा रुटमा बस सेवा संचालन गर्ने जनाएको छ ।

उता नेपालीको महान चाड बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल तालीम केन्द्र लामापाटनले मङ्गलबारदेखि पोखरामा निःशुल्क बस सेवा सञ्चालन सुरु गरेको छ ।

दशैँको अवसरमा बजारमा सार्वजनिक यातायातका साधान न्यून भएका कारण सर्वसाधारणलाई सुविधा पु¥याउने उद्देश्यका साथ फूलपातीका दिनदेखि कात्तिक २ गते टीकाका दिनसम्म बस सञ्चालन गरिने तालीम शिक्षालयका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्र बस्नेतले जानकारी दिए ।

सशस्त्र प्रहरी बलको व्यानरसहितको लामापाटनबाट बिहान १० बजेदेखि छुट्ने दुई बस पोखराका अमरसिंह, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सिर्जनाचोक, न्यूरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर, रानीपौवाको रुटमा दिउँसो ४ बजेसम्म चल्ने बताइएको छ ।

 

ताजा समाचार

सम्बन्धित समाचार