काठमाडौं –प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मंगलबार साँझ घरघरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आवाहन गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल, मान वृक्ष र अन्य नयाँ पालुवासमेत भित्र्याइएको छ ।
फूलपाती भित्र्याएपछि उखुमा कालिका, हलेदोमा दुर्गा, केराको बोटमा ब्रह्मायणी, धानको बाला लक्ष्मी, बेलपत्रमा शिवा, दारिममा रक्तदन्तिका, जयन्तीमा कार्तिकी, अशोकको फूलमा शोकरहिता, मान वृक्षमा चामुण्डा देवीको विशेष पूजा गरिन्छ ।
नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।
बडादशैँको सातौँ दिनसैनिक मञ्च टुँडिखेलमा मंगलबार फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा गरिएको बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपका साथ मार्चपास्ट गरेका थिए ।
सेनाको टोलीबाट इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास्टसहितको बढाइँ र षट्कोण चिह्नबाट बढाइँ प्रस्तुत गरिएको थियो ।
समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष , उपप्रधानमन्त्री एवं रक्षामन्त्री, गृहमन्त्रीलगायत मन्त्री, सांसद, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा विभिन्न पेशा व्यवसायका प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो । फूलपातीका दिन सैनिक मञ्चमा बढाइँ गर्ने परम्परा रहिआएको छ । बढाइँअघि राष्ट्रपतिको स्वागतमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
गोरखा दरबारको दशैँघर
परम्परानुसार गोरखा दरबारको दशैँघरमा मंगलबार फूलपाती भित्र्याइएको छ । अपराह्न ४ बजे गोरखा दरबारदेखि निस्किएको लावालस्करले ४ बजेर ४४ मिनेटमा फूलपाती चौताराबाट लगेको फूलपाती गोरखा दरबारमा भित्र्याएकोे हो ।
सोमबारराति जङ्गलबाट ल्याइएको दारिम, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फूललाई दरबार भित्र्याइएको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए ।
गोरखा दरबारका सुसारेले जङ्गलबाट जम्मा गरेर ल्याएको फूलपाती लिन दशैँघरदेखि हर्ष बढाइँका साथ दरबार हेरचाह अड्डाका कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको लावालस्कर सतिपिपल डाँडामा पुगेको थियो ।
मंगलबार सोही स्थानबाट बिहानको शुभसाइतमा राजधानीको हनुमानढोकामा समेत फूलपाती पठाइएको थियो । फूलपाती भित्र्याउनुपूर्व गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गल गीत र मालश्री राग गाउँदै बन्दूकेहरु र भार बोक्ने भारवाहक फूलपाती पर्सने सिँढीसम्म आइपुगेका थिए ।
गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर गोरखा दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको हेरचाह अड्डाका सूचना अधिकारी कट्टलेले बताए ।
हरेक वर्ष भने दरबारबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाम माथि देखिने समयमा दरबारको दशैँघरमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ ।
कोटभैरव मन्दिरमा फूलपाती
पोखरा महानगरपालिका–३० भरतपोखरीस्थित कोटभैरव मन्दिरमा मंगलबार फूलपाती भित्र्याइएको छ ।
बाजागाजाका साथ मन्दिरको दशैँघरमा फूलपाती भित्र्याइएको जानकारी दिँदै कोटभैरव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका सचिव कमलप्रसाद पौडेलले मन्दिर नजीकैको मैदानमा पाठाको बलि दिइएको बताए ।
उनका अनुसार फूलपाती भित्र्याउन खटिएका व्यक्ति (फूलपाते)ले बरमाझथर, बरपौवा, बर धारापानी र आसपासका गाउँबाट फूलपातीका साथै काँक्रो, अदुवा, कुभिण्डालगायत फलसमेत दशैँघरमा लैजान्छन् । आज भित्र्याइएको फूलपाती विजयादशमीका दिन प्रसादस्वरुप लगाउने प्रचलन छ ।
गहवामाई मन्दिरमा फूलपाती भित्र्याइयो
वीरगञ्ज महानगरपालिकास्थित एतिहासिक गहवामाई मन्दिरमा मंगलबार धूमधामका साथ फूलपाती भित्र्याइयो ।
वीरगञ्जको विर्ता्स्थित निशानी माई भागवती मन्दिरबाट बिहान शुभ साइतमा निकालिएकोे फूलपातीलाई नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले बाजागाजासहित गहवामाई मदिरमा भित्र्याइएको हो ।
बिहान ९ बजेर ४१ मिनटको शुभसाइतमा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले विधिपूर्वक पूजाअर्चना गरी गहवामाई मन्दिरमा फूलपाती भित्र्याएको छ । सो अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको एक टोलीले सलामी अर्पन गरेका थिए ।
विर्ताबाट निकालिएको फूलपाती हर्न सीमावर्ती भारतीय शहर रक्सौल, छिमेकी जिल्ला बारा, रौतहट र पर्साका ग्रामीण समुदायबाट आएका श्रद्धालु भक्तजनको ठूलो भीड गहवामाई मन्दिर परिसरमा जम्मा भएको थियो ।
विन्ध्यवासिनी मन्दिरमा फूलपाती मित्र्याइयो
पोखराको विन्ध्यवासिनी मन्दिरमा आज फूलपाती भित्र्याइएको छ ।
फूलपाती भित्र्याउने समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीका अधिकृत तथा जवानले सलामी अर्पण गरेका थिए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढासहित जिल्ला एवं प्रदेशस्थित कार्यालयका उच्च पदस्थ पदाधिकारीको उपस्थिति थियो । रासस





