भद्रपुर –उपभोक्ता अधिकारका लागि जिल्लास्तरीय सरोकारवालाको टोलीले सोमबार झापाको बिर्तामोड बजारमा अनुगमन गरेको छ । जिल्ला प्रशासन, बिर्तामोड नगरपालिका, उद्योग वाणिज्य सङ्घ तथा उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित टोलीले अनुगमन गरेको हो ।
टोलीले बिर्तामोड कृषिथोक बजारको मासु तथा माछा पसल, सब्जी पसल, फलफूल पसल, होटलको अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकांश पसलमा मूल्यसूची नभएको, फोहोर र झिँगा भन्किएको अवस्थामा माछा, मासु भेटिएको थियो । अधिकांशले खसीको मासु तथा माछा जाली तथा सिसायुक्त बाकस बिना नै खुल्लारुपमा बिक्री–वितरण गरिरहेको पाइएको थियो ।
अनुगमनका क्रममा खसी तथा कुखुरा काट्ने ठाउँ अत्यन्त फोहर भएको, त्यहाँ प्रयोग गरिएको पानी र अन्य फोहरले बजार नै दुर्गन्धित भएको, सब्जी पसलमा मनपरी खुद्रा मूल्य राखेर बिक्री गर्ने गरिएको पाइएको विर्तामोड नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए ।
टोलीले उपभोक्ता अधिकारलाई ध्यानमा राखेर मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री–वितरणका लागि व्यवसायीलाई सचेत गराएको छ । टोलीले तीन दर्जनभन्दा बढी पसल तथा होटलको अनुगमन गरेको थियो । सरसफाइ, मूल्यलगायत विषयमा मापदण्ड पालना नगर्नेलाई तत्काल कारवाही गर्नेसमेत टोलीले जनाएको छ ।
त्यस्तै स्थानीय सरकारले उपभोक्तावादी संस्था तथा वाणिज्य सङ्घ समेतको सहभागितामा अनुगमन कार्यविधि तयार गरी विज्ञसहितको टोलीबाट बजार अनुगमन गर्ने, मूल्यसूचीलाई व्यावहारिक बनाउने तथा मापदण्ड पूरा नगर्ने व्यापारीलाई कारवाही गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
टोलीले उपभोक्तालाई आफ्नो अधिकारबारे जागरुक बन्नसमेत अपिल गरेको छ । टोलीमा जिल्ला प्रशासनका प्रशासकीय अधिकृत युवराज कट्टेल, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डे, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, उपभोक्ता मञ्च नेपालका अध्यक्ष वेदप्रकाश अग्रवाल, विश्व उपभोक्ता महासङ्घ नेपालकी अध्यक्ष सरस्वती चम्लागाई, उपभोक्ता हित संरक्षण मञ्चका सचिव ईश्वर अधिकारीलगायत रहेका छन् । (रासस)





