काठमाडौं–नेपाल प्रहरीले बडा दशैंको अष्टमीदेखि विजया दशमीसम्म तीन दिन काठमाडौंमा निशुल्क बस सेवा दिने भएको छ ।
अष्टमी, नवमी र विजया दशमीको दिन विहान ११ देखि ४ बजेसम्म काठमाडौंको विभिन्न तीनवटा रुटमा निशुल्क बस सञ्चालन गर्ने प्रहरीले जनाएको छ ।
नक्शालबाट छुटेर आएको बस पुतलीसडक, माइतीघर, कुपण्डोल, पुल्चोक, जावलाखेल, एकान्तकुना, बल्खु, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, शहीदगेट, रत्नपार्क, दरबारमार्ग हुँदै नक्शालसम्म पुग्ने छ ।
त्यस्तै अर्को रुटमा नक्शालबाट छुटेर मैतीदेवी, गौशाला, कोटेश्वर, तीनकुने, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, शहीदगेट, लैनचौर, लाजिम्पाट, नारायणगोपाल चोक, वालुवाटार हुँदै नक्शालसम्म पुग्ने प्रहरीले बताएको छ ।
तेस्रो रुटमा नक्शालबाट सुरु भई जयनेपाल हल, लैनचौर, सोह्रखुट्टे, नयाँबजार, बालाजुचोक, नयाँ बसपार्क, तिलिंगेटार, नारायणगोपाल चोक, सुकेधारा चोक, चाबहिल, गौशाला, रातोपुल हुँदै नक्शालसम्म नै पुग्ने प्रहरीले जनाएको छ ।





