पहिरोले सरे खानेपानीको मुहान

काठमाडाैं– बाजुरामा वर्षेनि पहिरो जाँदा पानीका मुहान सुक्ने र सर्ने समस्या बढ्न थालेको छ।

वनविनास हुनुका साथै सडक बनाउने नाममा जथाभावी डोजर चलाउँदा पहिरोको समस्या बढिरहेका बेला बुढीनन्दा नगरपालिका–३ ताप्रामा, देनबाडा र भण्डारी बाडामा पानीका मुहान सुक्ने तथा मुहान सर्ने समस्या बढेको हो।

त्रिवेणी नगरपालिकाको पैमा गाउँमा पहिरोले गाउँखेत बगाएको छ।

गुईगाडको पहिरोका कारण पछिल्लो समय पानीका मुहान बेसीतिर सर्न थालेको खप्तड छेडदह गाउँपालिकाका अध्यक्ष नरबहादुर रावतले बताए। ‘पानी वर्षेपिच्छे फरकफरक ठाउँबाट खानुपर्ने बाध्यता छ,’ अध्यक्ष रावतले भने, ‘अब पहिरो रोक्न वृक्षरोपणसँगै संरक्षणका लागि योजना बनाउँदैछौं।’

यसैगरी, खप्तड छेडेदह गाउँपालिकाको छेडदह तालसमेत पहिरोको जोखिममा परेको छ। पहिरोले खोला जमिन कटान हुने क्रम बढेपछि सिंचाइका आयोजना बाँध बनाउने क्रम बढेको बढीगंगा–३ का चरणसिंह भण्डारीले बताए।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले तीन वर्ष अघि सार्वजनिक गरेको भौगर्भिक प्रारम्भिक अध्ययन प्रतिवेदन अनुसार जिल्लाको ५१ प्रतिशत भुभागको बस्ती मानव बसोबासका लागि उपर्युक्त छैन।

जिल्लाको कुल क्षेत्रफलको १ सय ९१ वर्ग किलोमिटरमात्रै बस्ती बस्नसुरक्षित देखिएको छ। प्रारम्भिक अध्ययनअनुसार १९ स्थानमा मात्रै बस्ती बस्न सुरक्षित देखिएको उक्त टोलीका सदस्य प्रेम दंगाल बताउँछन्।

यहाँका २४ हजार ८ सय ८८ घरमध्ये हाल ५ हजार २९ मात्रै सुरक्षित रहेको प्रतिवेदनमा उल्लेख छ। ९० वर्ग किलोमिटर क्षेत्रफल पहिरो प्रभावित छ। पहिरोको उच्च जोखिममा रहेको बाजुरामा पछिल्लो पटक पानीका मुहान नै सुक्ने र सर्ने समस्या बढ्न थालेपछि झनै चुनौती थपिएको छ।

बाढीले गत वर्ष मात्र जुड्डी लघुजलबिद्युत आयोजनाको नहर बगाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चिरन्जिबी शाहीले बताए। ‘पहिरोले हरेक वर्ष खानेपानीका मुहान बगाउँछ, पहिरोका कारण मुहानै सर्ने भएका कारण योजना नै अलपत्र हुने गरेका छन्,’ उनले भने।

०६४ यता जिल्लाका विभिन्न गाउँमा पहिरोमा परी ३२ बढीले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ। पछिल्लो समयमा अनुमान नै नगरिएको ठाउँमा सुख्खा पहिरो जान थालेको नेपाल रेडक्रस जिल्ला शाखा बाजुराका मन्त्री रामबहादुर शाहीले बताए।

गुइँगाड खोलोलेको पहिरोले बुढीगंगा र त्रिबेणी नगरपालिका तथा खप्तड छेडेदह गाउँपालिकामा असर पु¥याएको छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार पहिरोले खप्तड छेडेदह गाउँपालिको गुम्लागाउँ, बुढीगंगा नगरपालिकाको बजेडी, निमनी, देनशाएल, कुडी, उमकोट, सेरा, त्रिबेणी नगरपालिकाको पैमा, कालापानी छतारा, बडिमालिका नगरपालिकाको जिल्ली, उखाडी, रजाली, रीला बुढीनन्दा नगरपालिकाको पिपलडाली, साउँने गाउँ हिमाली गाउँपालिकाको कवाडी क्षेत्र र स्वामीकार्तिक गाउँपालिकाको साप्पाटा क्षति पुर्याउने गरेको छ।

ताजा समाचार

सम्बन्धित समाचार