दमौली –तनहुँ देवघाट गाउँपालिका–३ छिपछिपेका तुलबहादुर आले पेशाले शिक्षक छन् । उनी दिउँसो विद्यालयमा भेटिन्छन् , अनि बिहान–बेलुकाको फुर्सदको समयमा आफ्नो बारीमा ।
काम गर्नलाई जाँगर हुनुपर्छ भन्ने कुरा उनले आफ्नो कामबाट प्रमाणित गरेका छन् । शिक्षण पेशासँगै उनले बोडी खेतीबाट समेत मनग्य आम्दानी गर्ने गरेका छन् । उनले बोडी बिक्रीबाट वार्षिक रु दुई लाखसम्म आम्दानी हुने गरेको बताउछन् ।
मालेपाटन–१ जातको बोडीखेती गर्नुभएका उनले आगामी वर्ष अझ आम्दानी बढ्ने अनुमान गरेको बताए । ‘‘शिक्षण पेशा र खेतीलाई समय छुट्याएर काम गरिरहेको छु,’’ उनले भने , ‘‘बोडी खेतीबाट राम्रो आम्दानी छ, सन्तुष्ट पनि छु ।’’
सोही ठाउँका शान्तिमाया गुरुङले समेत बोडी खेतीबाट गत वर्ष रु. एक लाख साठी हजार आम्दानी गरेको बताए । “यो वर्ष अझ राम्रो उत्पादन भएको छ, आम्दानी बढ्ने अनुमान छ”, उनले भने ।
अर्का कृषक गङ्गासिंह गुरुङले पनि बोडी खेतीबाट रु एक लाखभन्दा बढी आम्दानी गरेको बताए । उनका अनुसार मालेपाटन–१ जातको बोडी बाह्रै महीना उत्पादन हुन्छ । फागुनदेखि चैत्र र साउनदेखि भदौ महीनामा बोडीको बीउ उत्पादन गर्न सकिन्छ ।
बोडीको बजारमा कुनै समस्या नरहेको उनले बताए । यहाँ उत्पादन भएको बोडी तनहुँ, पोखरा, चितवन, काठमाडौँलगायतका ठाउँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।
क्विन्टलको रु तीन हजारसम्म बिक्री हुने गरेकाले बोडी खेतीमा यस ठाउँका कृषकहरु आकर्षित भएका छन् । सहास नेपाल नामक संस्थाको सहयोगमा यस ठाउँका कृषकले बोडीखेती शुरु गरेका हुन् ।
यस ठाउँका ४४ घरधुरीले बोडीखेती गरेको स्थानीय शान्तिमाया गुरुङले बताए । “तीन÷चार वर्षदेखि यहाँका मानिसले व्यावसायिक रूपमा बोडीखेती गरिरहेका छन्”, उनले भने , “बोडीखेती आयआर्जनको प्रमुख स्रोत बनेको छ ।” बोडीमा लाग्ने किराले बेला–बेलामा बोडी खेती नष्ट गर्ने गरेको गुनासो गर्छन् स्थानीय तुलबहादुर गुरुङ । उनले बोडी खेती गर्ने कृषकलाई थप प्राविधिक ज्ञान र अनुदान वितरण हुनुपर्ने माग गरे। (रासस)





