हनुमन्ते सफाइ अभियानमा तीन टन फोहोर सङ्कलन

भक्तपुर– भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको शनिबार ३३औँ हप्ता तीन टन फोहर सङ्कलन गरिएको छ । अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा भएको सफाइ अभियानमा तीन टन फोहर सङ्कलन भएको हनुमन्ते सफाइ अभियानका अभियन्ता पुष्कर गजुरेलले जानकारी दिए।

हनुमन्ते सफाइ अभियान शुरु भएदेखि अहिलेसम्म २१६ टन फोहर सङ्कलन भएको जानकारी दिँदै  उनले  भक्तपुरको सूर्यविनायक र भक्तपुर नगरपालिका जोड्ने राधेराधे क्षेत्रको हनुमन्ते पुलमुनि र त्यस आसपास क्षेत्रमा सरसरफाइ गरिएको जानकारी दिए ।

सूर्यविनायक नगरपालिकाको नेतृत्वमा शुरु भएको अभियानको क्रममा शनिबार  १३ विभिन्न सङ्घसंस्था र २७६ जना अभियन्ताको सहभागिता रहेको थियो । अभियानका क्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख थापाले आफ्नो नगरक्षेत्र भएर बग्ने हनुमन्ते नदीमा फोहर फाल्नेलाई कडा कारवाही गर्ने नीति नगरपालिकाले अवलम्बन गरेको बताए ।

कलाकार बोगटीप्रति श्रद्धाञ्जलि अर्पण 

हनुमन्ते सफाइ अभियानका अभियन्ता एवं नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रामकेशर बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गरिएको छ । सफाइ अभियान शुरु हुनुभन्दा अघि शनिबार सफाइ अभियन्ताहरूले  उनको तस्वीरमा माल्र्यापण एवं पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख थापा, उपप्रमुख जुना बस्नेत, मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका अभियन्ताले बोगटीप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कार्यक्रममा नगरप्रमुख थापाले हनुमन्ते सफाइ अभियान शुरु भएको दिनदेखि नियमित रूपमा सफाइ अभियानमा सहभागी भएका र सामाजिक कार्यमा समेत क्रियाशील हुनुभएको कलाकार बोगटीको आकस्मिक निधनले अपूरणीय क्षति पु¥याएको बताए ।  गत २३ गते मध्यपुरथिमि नगरपालिका–१ जडिबुटी एवं टीकाथलीको सङ्गमस्थलमा रहेको हनुमन्ते खोला किनाराको वरपिपलको रुख काट्ने क्रममा रुख ढलेर ट्रान्सफर्मरसहितको पोल ढलेर किच्दा बोगटीको निधन भएको थियो । (रासस)

ताजा समाचार

सम्बन्धित समाचार