काठमाडौं–कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले काठमाडौंमा मासु खानुअघि सचेत रहन उपभोक्तलाई आग्रह गर्दै मासुको नियमनको काम भइरहेको बताएका छन्।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खनालले भने, ‘मासु पसलको नियमन हुन सकेको छैन। राँगाको मासुको सन्दर्भमा निकै नै अप्ठ्यारो स्थिति छ।’
काठमाडौंमा दैनिक ३ सय ५० देखि ४ सयसम्म राँगा बध गरिने तथ्यांक पेश गर्दै उनले भने, ‘बध गर्ने मुख्य २० वटा ठाउँ छन्। तीमध्ये ५ वटामा अनुगमन गर्दा ४ गुणस्तर नपाएकोले हामीले अहिले ४ वटामा शिलबन्दी गरिसकेका छौं।’
उनले आफूहरुले काठमाडौंमा गरेको मासुको अनुगमनबाट राँगाको मासु खानलायक नरहेको जिकिर गर्दै यसप्रति सचेत रहन उपभोक्तालाई आग्रह गरे। उनले भने, ‘अरु मासुपनि व्यवस्थित छैनन् । तर, राँगाको मासु खानलायकको छैन।’
राँगाको मासु काट्ने ठाउँमा आमउपभोक्ताको पहुँच नहुने उल्लेख गर्दै मन्त्री खनालले भने,‘ खसी, कुखुरा, भेडा र च्याङ्ग्राको स्थिति अलिक फरक छ। त्यहाँ उपभोक्ताको सहज पहुँज हुन्छ। प्रत्यक्ष निगरानी हुन्छ। तर, राँगा काट्ने ठाउँ अव्यवस्थित् रहेकोले हामीले बन्द गर्यौं।’
मन्त्री खनालले काठमाडौं उपत्यकाभित्र ४० वटा ‘मिट–मार्ट’को व्यवस्था गर्ने, हेटौंडाको पूरानो बधशालालाई तुरुन्त सञ्चालन गर्ने र फ्रिजर भ्यानबाट काठमाडौं मासु ढुवानीको व्यवस्था गर्ने योजना सुनाए।
मन्त्री खनालले अनुगमनपछि २२ पानी उद्योगमा ताला लगाएको सुनाउँदै अहिले सुधारउन्मुख रहेको बताए। उनले भने,‘त्यस्तै दूधमा पनि अनुगमन गरेका थियौं। अहिले दुधमा ९२ प्रतिशत सुधार भएको छ। गुणस्तर कायम गरेका छौं।’ उनले एक वर्षसम्म खाद्य सुरक्षा अभियान सञ्चालन गर्नेपनि जनाए।





