काठमाडौं– उपत्यकाको चक्रपथ खण्डमा पर्ने महाराजगञ्ज चोकमा सडक संकेत बत्ती सञ्चालनमा ल्याइएको छ।
नेपाली प्रविधिमा निर्माण गरिएको प्रणालीको रिमोट, शुक्रबार एक कार्यक्रममा मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरी उपरीक्षक राजकुमार लम्साललाई हस्तान्तरण गरे। त्यस लगत्तै मेयर शाक्यले शिक्षण अस्पताल अगाडि निर्माण गरिएको पैदल यात्रु संकेत बत्तीको शुरुवात गरे। यो प्रणाली निर्माण गर्न ५ लाख रुपैयाँ खर्च गरिएको छ।
महाराजगञ्जमा निर्माण गरिएको संकेत बत्तीमा सवारीसाधनका लागि ९० सेकेण्ड र जेब्रा क्रसिङ् प्रयोगकर्ताका लागि १५ सेकेण्ड समय कायम गरिएको छ।
तारविहीन नेपाली प्रविधिमा जडान गरिएको प्रणालीमा बत्तीसँगै क्यामरा पनि जोडिएका छन्। ती क्यामराले १ सय मिटरसम्मका सवारीलाई (क्लोज अप) नजिकबाट निगरानी र तिनका गतिविधि रेकर्ड गर्न सक्ने बताइएको छ। बत्तीहरु अटो र म्यानुअल दुवै तरिकाबाट चलाउन सकिन्छ।
दिनको समयमा अटोमा राखेपछि एउटै समय तालिकामा आवागमन चल्छ भने बिहान बेलुकी सवारीसाधन कम चल्ने बेलामा पैदल यात्रीले स्वीच थिचेर सडक पार गर्न सक्छन्। प्रयोगकर्ताले स्वीच थिचेको १० सेकेण्डपछि हरियो बत्ती बल्छ।
शहरका अन्य ठूला चोकमा पनि संकेत बत्ती विस्तार गर्ने महानगरको योजना रहेको शहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापाले बताए।





