केही ठूला होटल, अस्पताल कारवाहीको दायरामा

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) का मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको र सेवा विस्तार गरेको भन्दै वातावरण मन्त्रालयद्वारा कारवाहीको निर्णय

काठमाडौं, फागुन १३ः नवनियुक्त जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको सक्रियता बढ्न थालेको छ ।

यसै क्रममा, जनसंख्या तथा वातावरण मन्त्रालयले आज मापदण्ड विपरीत सेवा सञ्चालन गरेको भन्दै राजधानीका ठूला होटल, अस्पताल र दूध वितरकलाई विभिन्न कारवाही गर्ने निर्णय गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) र प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) का मापदण्ड पुरा नगरी सेवा सञ्चालन गरेको र होटल विस्तार गरेको भन्दै बत्तीसपुतलीस्थित पाँचतारे होटल द्वारिकाज र ठमेलको काठमाडौं गेष्ट हाउससहित केहीलाई एक लाख रुपैयाँ जरिवाना तिराउने निर्णय गरिएको छ । जरिवानामा परेकामा सोल्टी सिटी अपार्टमेन्ट र सिटी होटल लिमिटेड पनि छन् ।

मन्त्री पण्डितले आजै काठमाडौंका चारवटा ठूला हस्पिटललाई पनि कारवाहीको दायरामा ल्याएका छन् । मापदण्ड पूरा नगरी सञ्चालन गरिएको भन्दै मन्त्रालयले कलंकीस्थित नेसनल हस्पिटल, महाराजगञ्जको अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल, भृकुटीमण्डपको काठमाडौं मोडल हस्पिटल र त्रिपुरेश्वरको काठमाडौं अस्पतालमाथि पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयलाई पत्र काटेको छ ।
वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ विपरीत सञ्चालनमा आएको पाइएपछि मन्त्रालयले यि अस्पतालहरुलाई कारवाही गर्ने निर्णय गरेको हो ।

त्यसैगरी मापदण्डविपरित सञ्चालन गरिएको भन्दै तनहुँको आँबुखैरेनीस्थित अरनिको आँबुखैरेनी सिमेन्ट इन्डस्ट्रिज, मोरङको कमला रोलिङ मिल प्रालि र काठमाडौंको बालाजुस्थित दुग्ध वितरण आयोजनालाई ५० हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि मन्त्रालयले गरेको छ ।