दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको विशेष योजना

काठमाडौं–महानगरीय ट्राफिक प्रहरी महाशाखाले दसैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयनमा ल्याएको छ।
महाशाखा प्रमुख बसन्त पन्तका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना अन्तर्गत विशेष चेकजाँच थालिएको छ, भने सचेतनामूलक कार्यक्रम गरिएको छ।

थानकोट, नागढुङ्गा, जगाती, फर्पिङ, बालाजु लगायतका नाकाबाट उपत्यका बाहिरिने सवारीसाधनो मादक पदार्थसहितको चेकजाँच भइरहेको उनले बताए। ‘मादक पदार्थसँगै ट्राफिक नियम पालनासम्बन्धि जाँच नियमित हुन्छ, तर चाडपर्वका बेला झन जोखिम हुने भएकाले विशेष कडाइ गरिएको हो,’ महाशाखाका प्रमुख पन्तले बताए।

चालकले मादकपदार्थ सेवन गरेको पाइएमा सम्बन्धित व्यवसायी र कम्पनीसँग समन्वय गरी अर्को चालक व्यवस्थापन तथा यात्रुलाई गन्तब्यसम्म पु¥याउने व्यवस्था गरिने पनि ट्राफिक प्रहरीले आफ्नो योजनामा उल्लेख गरेको छ।
हेल्मेटको प्रयोग नगर्ने, तीव्रगतिमा सवारी चलाउनेमागि कडाइका साथ कारबाही थालिएको र ओभरलोड, सवारीको अन्य भाग तथा छतमा यात्रु तथा मालसामान राख्न निषेध गरिएको उनले बताए।

दसैंका बेला उपत्यकाबाट करीब २५ लाख मानिस बाहिरिन्छन्। सडक जाम व्यवस्थापनका लागि नागढुंगामा ४० टन क्षमताको क्रेन राखिएको छ, भने भने नागरिक सहायता कक्ष स्थापना गरिएको उनले बताए।
ट्राफिक प्रहरीले लामो दुरीका सवारीसाधनमा अनिवार्य २ चालक राख्ने नियम कार्यान्वयन गर्न भनेको छ, भने टिकट काउन्टरमा सादा पोशाकका प्रहरी परिचालन गरेर निगरानीको काम भइरहेको जनाइएको छ।

ट्राफिक प्रहरीले नागरिक सहायता कक्ष र टिकट काउण्टरमा देखिने गरी भाडा दररेट राखेर कार्यान्वयन गर्न निर्देशन दिएको छ, भने टिकट काउण्टरमा टिकट काट्ने व्यक्ति तथा यातायातसँग सरोकार राख्ने व्यक्तिको सहजै पहिचानको लागि परिचयपत्रको व्यवस्था गर्न भनेको छ।

‘फर्जी टिकट तथा डबल टिकट काट्ने व्यक्ति माथि निगरानी राखी कारबाही गरिनेछ,’ महाशाखा प्रमुख पन्तले भने।
दसैं, तिहार तथा छठपर्वमा उपत्यकाका व्यस्त रहने मुख्य व्यापारिक स्थान र सवारीसाधनको चाप हुने स्थान (न्यूरोड, असन, दरबारमार्ग, कालीमाटी, नयाँबसपार्क, गौशाला, चावहिल, बानेश्वर, ठमेल, जावलाखेल, भक्तपुरको बजार क्षेत्रमा आदिमा) ट्राफिक प्रहरीको उपस्थिति बढाइको छ। ‘आवश्यक परेमा डाईर्भसनको व्यवस्था समेत हुन्छ,’ उनले भने।

महाशाखाले यात्रुलाई कुनै पनि असुविधा वा ठगी भएमा ट्राफिक प्रहरीको हटलाइन नं. १०३, प्रहरीको नं. १००, सिधा सम्पर्क ०१–४२१९६४१ वा ट्राफिकको फेसबुकमा समेत उजुरी गर्न सकिने बताएको छ।

ताजा समाचार

सम्बन्धित समाचार