काठमाडौं– फाष्ट ट्रयाक, एयरपोर्ट निर्माण मूल व्यवस्थापन तथा सरोकार समितिले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमास्थलकाे निर्माणकाे सुनिश्चितताकाे माग गरेकाे छ।
प्रस्तावित विमानस्थलबारे विभिन्न काेणबाट बहस भइरहेका बेला समितिले बिहीबार राजधानीमा पत्रकार सम्मेलनकाे अायाेजना गरी आगामी ५-७ वर्षभित्र निर्माण सम्पन्न हुने सुनिश्चितताको माग सरकारसँग गरेकाे हाे।
समितिका संयोजक रविराज दंगालद्वारा जारी वक्तव्यमा भनिएकाे छ, ‘हामी प्रदेश २ वासी यो आयोजना कुनै पनि बाहनामा गुमाउन चाहान्नौं। अब पनि कुनै बाहनामा आयोजना अल्झाइ राख्ने अधिकार कसैलाई छैन।’
विमानस्थल निर्माण गर्दा विस्थापन हुने मध्येकाे एउटा टाँगियावस्ती सरोकार समितिका रमेश सापकोटाले विमानस्थलको धावनमार्ग प्रस्ताव गरिएको १ हजार ४ सय ७६ धुरीको टाँगियाबस्तीमा विकास निर्माण ठप्प भएको गुनासो पोखे। उनले भने, ‘यो बस्तीको कारणले विकास निर्माण नरोकियोस्। सरकारले बरु बस्तीको उचित व्यवस्थापन गर्नुपर्छ।’
उक्त गाउँमा १६ घर धुरी लालपुर्जाविहीन रहेको सुनाउँदै उनले भने, ‘त्यस्तै यो क्षेत्रमा १ सय १० विघा नम्बरी जग्गा छ। अनावश्यक रुपमा जंगल फडानी गर्न नहुने सापकाेटाले बताए।
आयोजना प्रमुख ओम शर्माले अहिले नदी नियन्त्रणको काम, जग्गाको मुआब्जा वितरणकाे काम र रूख कटानकाे जिम्मा पाएकाे नेपाली सेनासँग समन्वय गर्ने काम भइरहेकाे बताए।
नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा हवाई मार्गलाई स्थापित गराउन यो योजनाले भूमिका निर्वाह गर्ने बताए।
नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले त्रिभुवन विमानस्थलले मात्रै अब अन्तर्राष्ट्रिय उडानहरु धान्न नसक्ने भएका कारण चाँडोभन्दा चाँडो निजगढ लगायत अन्य अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने बताए।
पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्यले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना भएको कारण कसैलेपनि विरोध गर्न नहुने धारणा राखे । उनले भने,‘यो आयोजनालाई सफल बनाउनको लागि सबैले सहयोग गर्नुपर्छ । किनकी यो आयोजना एशियाकै उत्कृष्टमा परेको छ।’





