काठमाडौं– सरकारले खानेपानीका लागि कम्तीमा अाधा घण्टा लाग्ने बस्तीकाे समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेकाे छ।
खानेपानी मन्त्रालयका वरिष्ठ डिभिजनल इञ्जिनियर रामकुमार श्रेष्ठको संयोजकत्वमा गठीत कार्यदलमा अर्थशास्त्री कमलकान्त पौडेल, इञ्जिनियर सुष्मा काफ्ले र सचिवालयका तर्फबाट प्रेस संयोजक शुकदेव चापागाईं, सुन्दर चौधरी एवं इन्द्रसिंह बुडाल रहेका छन्।
कार्यदलले मन्त्रालयमा आएका समस्या तथा गुनासालाई वर्गीकरण गरी समाधान गर्न सम्बन्धित निकायलाई ताकेता गर्ने जनाइएको छ। मन्त्रालयले गत भदौ २९ गते सार्वजनिक सूचना जारी गरी घरायसी प्रयोजनका लागि आवश्यक पर्ने खानेपानी संकलन गर्न आधा घण्टाभन्दा बढी समय लाग्ने समुदाय तथा घरपरिवारको विवरण एवं गुनासा माग गरेको थियो।
खानेपानीमन्त्री बिना मगरको विशेष सक्रियतामा मन्त्रालयले खानेपानीसम्बन्धी गुनासो एवं समस्या माग गरेको थियो । प्राप्त मागको यथोचित सम्बोधन गर्न स्थलगत निरीक्षणका साथै सम्भाव्यता अध्ययनका आधारमा विशेष कार्ययोजनासहित काम अघि बढाउने गरी मन्त्रालय लागिपरेको मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरले बताए।





