साइकलिस्टका समस्या : जताततै धुँवाधुलो, साइकल लेन नै छैन

काठमाडौं– उपत्यकाको व्यस्त सडक। हतारमा कुदिरहेका मोटर गाडी। ती गाडीको बीचमा कहिँकतै देखिन्छन् साइकलिस्ट।

अझ चक्रपथमा साइकल चलाउनु साइकलिस्टहरूका लागि चुनौती बन्दै गएको छ। बस,मोटरसाइकल तथा कार चालकले साइकल चलाउनेलाई मानवताको व्यवहार समेत गर्र्दौ। यसले गर्दा साइकलिस्टहरू निरास पनि बन्ने गरेका छन् ।

जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को अध्ययनले उपत्यकामा २० वर्ष को अन्तरमा साइकलको प्रयोग गर्नेको संख्यामा ५ दशमलव १ प्रतिशतले घटेको देखाएको छ। जाइकाका अनुसार सन् १९९१ मा ६ दशमलव ६ प्रतिशतले साइकलको प्रयोग गर्थे भने सन् २०१२ मा सो प्रतिशत झरेर १ दशमलव ५ प्रतिशतमा पुगेको छ ।

२०६८ सालको नेपालको जनगणना अनुसार नेपालका ३३ प्रतिशत घरपरिवारमा साइकल छ भने काठमाडौं उपत्यकामा ११ दशमलव ५ प्रतिशत घरमा साइकल छ। उपत्यकाभित्र १० हजार साइकलिस्ट रहेका छन्।

वातावरण र स्वास्थ्यका लागि उत्कृष्ट साधन साइकल भएपनि साइकल लेन नहुनु, राज्यको तर्फबाट साइकलिस्टहरूलाई हौसला तथा प्रवद्धर्न गर्न नसक्नु जस्ता कारणले साइकलिस्ट निरास हुँदै गएका छन्। व्यस्त सडक र धुँवा फाल्ने मोटर गाडीसँगै कुद्ने साइकललिस्टहरूको दैनिक कस्ता समस्या भोगिरहेका छन्?

हाकाहाकीकर्मी खेमा बस्नेतले पाँच जना साइकलिस्टलाई सोधेकी छन् । उनीहरूको भनाइ जस्ताको त्यस्तै ।

साइकल लेन छैन : कवि महर्जन
वातावरणलाई प्रदूषण नगर्ने साधनलाई प्रवद्र्धन गर्नका लागि विभिन्न देशहरुले साइकल लेन बनाएका छन्। तर,नेपालमा साइकल लेन छैन। त्यसमाथि अस्पताल, सरकारी कार्यालयमा पार्किङको व्यवस्था छैन। काठमाडौंको सडकमा गाडीले साइकललाई एकदमै पेल्छ। यस्तो अवस्थामा दुर्घटना हुनसक्न। साइकलमा क्षति भएमा यसको बीमा छैन।

साइकलमैत्री वातावरण छैन: श्रीप्रसाद बुढाथोकी

काठमाडौंमा साइकलमैत्री वातावरण छैन। काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले साइकल लेन बनाउने घोषणा त गरे। तर, अहिलेसम्म काम भएको छैन। हामी सडकमा एकदमै असुरक्षा महसुस गर्छौं, साइकलिस्टका लागि यो सडक सुरक्षित छैन। जसले वातावरण अनुकुल साइकल चलाउछ उसैले सबैभन्दा बढी धुलो धुँवा खान्छ । साइकलिस्टको सबैभन्दा ठूलो समस्या भनेको पार्किङको हो । साइकल पार्किङ नै छैन।

धुँवाधुलोमा साइकल चलाउनुपर्छ :  प्रेमबहादुर वाइबा

धुलो उड्ने सडक, धुँवा फाल्ने गाडी। धुँवाधुलो खाने हामी। घरबाट साइकल लिएर काममा हिँड्यो घर फर्किदा आफू र साइकल सकुसल हुन्छ कि हुँदैन चिन्ता लाग्छ। हतारमा गाडी चलाउछन् कति बेला हामीजस्ता साइकल चालकलाई चेप्ने हुन्, डर हुन्छ। डरैडरले साइकल चलाइरहेको हुन्छौं। जाममा भएको बेला त अझ धुँवा फालेर स्वास फेर्न गाह्रो हुन्छ। सबैले नयाँ नेपाल बनेपछि सबै ठाउँमा विकास हुन्छ भन्थे, यही रहेछ नेपाल। कहिले बन्ने साइकल लेन। कहिले बन्ने धुँवाधुलोमुक्त सहर।

काठमाडौंको सडकमा साइकल चलाउनु निकै चुनौतीपूर्ण कामः उमेश धामी
काठमाडौंको सडकमा साइकल चलाउनु निकै कठिन छ। यहाँको सडकमा साइकल चलाउन निकै गाह्रो हुन्छ। डरैडरले कुनाबाट साइकल चलाउनुपर्छ। गाडी, मोटरसाइकललाई बाटो दिनुपर्ने यस्सो कहिलेकाही उनीहरुको अगाडि परेपछि त हर्न बजाएर। गाडी र मोटरसाइकलको भीडभाडमा दुर्घटनाको जोखिम उत्तिकै हुन्छ।

 

स्वास फेर्नै गाह्रो : सन्दीप विक
पहिले सार्वजनिक यातायातको प्रयोग गर्थे । तर, एक वर्षदेखि साइकलमै कार्यालय पुग्छु र फर्कन्छु । साइकल चलाउने छुट्टै लेन नहुँदा ठूला बस, ट्रकले किच्छन कि भन्ने डर लागिरहन्छ । उनीहरू पूरै सडक आफ्नै मात्रै हो जस्तो गर्छन् । त्यसमाथि धुँवाधुलोले आँखा, स्वासप्रश्वासमा समस्या पनि हुन्छ। अझ साइकल चालकलाई मानवताको व्यवहार नहुँदा सारै चित्त दुख्छ।

ताजा समाचार

सम्बन्धित समाचार