काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले पानी,तेल र मासु ढुक्कले खानुस् भन्ने अवस्था नरहेको बताएका छन् ।
अनुगमन र कडाई पछि अहिले दुध ढुक्कले खान मिल्ने अवस्थामा पुर्याएको भन्दै मन्त्री खनालले तेल, पानी र मासुमा भने अझै सुधार नभएको बताए । ‘अहिले नै म पानी, तेल र मासु ढुक्कले खानुस् भन्न सक्ने अवस्थामा छैन, मन्त्री खनालले भने, ‘राज्यले नियमन गर्ने संयन्त्रको विकास नै गर्न सकेको रहेनछ । तर केही समयपछि नै खान मिल्ने बनाइन्छ, अखाद्य बस्तु मिसावट गर्ने सबैलाई जेल हालिन्छ ।’

मुख्य सहरमध्ये झण्डै ५० लाख मान्छेको बसोवास भएको काठमाडौंमा अखाद्य बस्तुको मिसावट सबैभन्दा बढी हुने गरेको उनको भनाई छ ।
फोकस नेपालले काठमाडौंमा मंगलबार गरेको समृद्धिका लागि सहकार्य, कृषि क्षेत्रको विकास अपरिहार्य विषयक विचार गोष्टिमा बोल्दै मन्त्री खनालले जनताको स्वास्थ्य माथि खेलवाड गर्ने छुट कसैलाई नभएको बताए । उनले खाद्य पदार्थमा मिसावट गर्ने जो कोहीलाई जेल हाल्ने बताएका हुन् ।
अनुगमन गर्दा खान नमिल्ने पानी बेच्ने २२ वटा पानी उद्योगमा तालावन्दी गरिएको पनि मन्त्री खनालले जानकारी दिए। यस्तै उनले अहिले कृषि क्षेत्रको अवस्था दयनिय भएको पनि बताएका छन् । २ करोड ८० लाखको दुई तिहाई अर्थात झण्डै ६५ प्रतिशत मानिसले खेती गर्ने कृषि क्षेत्रमा विनियोजन गरिएको बजेट, सरकार र नेताहरुको प्राथमिकता आदि कारणले कृषि क्षेत्रको अवस्था दयनिय भएको उनको भनाई छ ।
‘सामान्य गमलामा छर्केको भरमा आफूलाई पुग्ने धनियाँ उत्पादन गर्न सकिन्छ, मन्त्री खनालले भने, ‘तर हामी वार्षिक १३ करोडको धनियाँ विदेशबाट आयात गछौं ।’ त्यस्तै एक सय २५ देखि ३० अर्वको धान चामल आयात हुने गरेको छ ।
‘कृषि प्राथमिकतामा परेन, यसलाई उल्टाउनु पर्छ, उल्टोबाट सुल्टो बाटोमा ल्याउनु पर्छ, खनालले भने, ‘त्यसका लागि सरकारको सोचाई बदलिनु पर्छ, मन्त्रालयले केही राम्रा कार्यक्रमहरु पनि ल्याएको छ ।’ अन्यथा विदेशमा पसिना बढाइरहेका युवा जनशक्तिलाई स्वदेश फर्काउन नसकिने र कृषि झन ओरालो लाग्ने उनको भनाई छ ।





