काठमाडौं– सरकारले उखु उत्पादक किसानले पाउनुपर्ने रकम पाँच दिनभित्र भुक्तानी गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ।
दसैं,तिहार आइसक्दासमेत चिनी उद्याेगलेले भुक्तानी नदिएको गुनासो आएपछि सरकारले पाँच दिनभित्र रकम भुक्तानी गर्न निर्देशन दिएको हो।
अर्थ मन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, उद्योग तथा आपूर्ति मन्त्री, वन तथा वातावरण, सामान्य प्रशासन मन्त्री र विभिन्न मन्त्रालयका सचिवहरुको सोमबार सिंहदरबारमा भएको बैठकले यस्तो निर्देशन दिएको कृषि मन्त्री चक्रपाणी खनालले जानकारी दिए । पाँच दिन भित्र भुक्तानी नदिने उद्योगीहरुलाई कार्वाही गर्ने चेतावनी सरकारले दिइएको छ।
कृषि मन्त्रालयको सिफारिसमा गत वैशाख ५ गते बसेको मन्त्रिपरिषदको बैठकले उखु किसानलाई उद्योगले चार सय ७१ रुपैँया २८ पैसा र नेपाल सरकारले अनुदान बापत ६५ रुपैँया २८ पैसा गरी प्रति क्विण्टल पाँच सय ३६ रुपैँया ५६ पैसा दिने निर्णय भएको थियो।
निर्णय भएको ६ महिनासम्म पनि आफुहरुले भुक्तानी नपाएको भन्दै आन्दोलनको बाटो तताउनु परेको नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए। हाल सम्म उद्योगीले २ अर्ब र नेपाल सरकारले अनुदान बापतको १ अर्ब २८ करोड रकम उखु किसानलाई भुक्तानी गर्नु पर्ने महासंघको दाबी छ।
सम्बन्धित समाचार : दसैंको मुखमा चिनीको भाउ आकासिएपछि अध्ययन गर्न समिति





