काठमाडौं– नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने उद्देश्यसहित गठित ऊर्जा संयन्त्रको बैठक आगामी कात्तिकमा प्रस्ताव गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले २९ र ३० गते काठमाडौँमा बैठक आयोजना गर्ने मिति प्रस्तावसहित सहजीकरण गरिदिन परराष्ट्र मन्त्रालयलाई १८ असोजमा पत्राचार गरेको हाे। गत साउन २५ गते नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो।
सोही समझदारीपत्रका आधारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सचिवको नेतृत्वमा संयुक्त सञ्चालन समिति र सहसचिवको नेतृत्वमा संयुक्त कार्य समूह गठन गरिएको थियाे।
सो समितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा मन्त्रालयकै ऊर्जा महाशाखाका सहसचिव, परराष्ट्र मन्त्रालयका सहसचिव, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशक, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक र मन्त्रालयकै विकास सहायता तथा प्रादेशिक समन्वय शाखाका सिनियर डिभिजनल इञ्जिनीयर सदस्य रहने व्यवस्था छ।





