काठमाडौं–कृषि तथा पशुपन्छी विकास मन्त्राललयले कृषकको समस्या समाधान गर्न स्थापना गरेको ‘गुनासो व्यवस्थापन कक्ष’ मा २० गुनासो आएका छन्।
मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीका अनुसार असोज २ गतेदेखि २० गतेसम्म कुखुरा तथा चिनीमा भएको मूल्यवृद्धि लगायतका विषयमा जनागुनासो आएका छन्।
खासगरी कुखुराको चल्लामा व्यापारीले गरेको मूल्यवृद्धि, कृषि अनुदान तथा ऋण, स्थानीय स्तरमा कृषि फार्म दर्ता गर्न नदिएको, बाख्रापालन सम्बन्धी अनुदान र ऋण जस्ता गुनासो आएको प्रवक्ता सुवेदीले बताए। गुनासाे व्यवस्थापन कक्षका प्रमुख कमल पराजुलीले मूल्यवृद्धिको गुनासो आएपछि अब अनुगमन गर्ने तयारी भएको बताए।
गुनासो कक्षमा प्राप्त गुनासो सम्बन्धी पक्षलाई तत्काल समाधान गर्न मन्त्रालयले निर्देशन समेत दिने गरेको छ। गुनासोका आधारमा सोही दिन वा एक हप्ता भित्र समस्या समाधान गर्ने गरेको उनले बताए। धेरैजसो गुनासो काठमाडौं उपत्यकाबाटै आउने गरेको गुनासो व्यवस्थापन कक्षले जनाएको छ।
मन्त्रालयले असोज २ गतेदेखि सेवाग्राहीहरुको गुनासोलाई सम्बोधन गर्न ‘गुनासो व्यवस्थापन कक्ष’ स्थापना गरेको थियो। यसको लागि निःशुल्क टोल फ्रि नम्बर ११६० मा फाेन गरी आफ्नो गुनासो टिपाउन सकिन्छ । साथ ट्वीटर, फेसबुक, भाइवर तथा इमेल मार्फत समेत गुनासोहरू टिपाउन मन्त्रालयले आग्रह गरेको छ।





