काठमाडौं– यस वर्षको मनसुन औसतभन्दा १२ दिन पछि अर्थात ५ अक्टुबरमा बाहिरिएसँगै चिसोयाम शुरु भएको महसुस हुन थालेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहान–बेलुका चिसो महसुस हुन थालेको छ, भने मुलुकका अन्य भुभागमा पनि विस्तारै चिसोपन शुरु हुँदै जानेछ।
महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार बदलीको अवस्था समेत नरहेकाले तापक्रम घट्दै जाँदा चिसो बढ्दै जाने छ। ‘तापक्रम घटेकाले उपत्यकामा बिहान बेलुका चिसो महसुस गरिएको हो,’ कँडेलले भनिन्, ‘तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण मात्र हो। यो सामान्य प्रक्रिया हो।’
महाशाखाका अनुसार आइतबार काठमाडौंको न्यूनतम तापक्रम १३ दशमलब ७ डिग्री सेल्सियस् रहेको छ, भने अधिकतम तापक्रम २७ दशमलव ६ डिग्री सेल्सियस् छ। पछिल्लो तीन दिनमा काठमाडौंको न्यूनतम तापक्रमको दर घट्दै गएको विभागको तथ्यांक छ।
बिहीबार न्यूनतम तापक्रम १५ दशमलब ५ रहेकोमा शुक्रबार र शनिबार १४ दशमलव ६ डिग्री सेल्सीयस रहेको थियो। दसैं अगाडि नै मनसुन बाहिरिसकेकाले दसैंमा पानी पर्ने सम्भावना न्यून रहेको महाशाखाले जनाएको छ।
बंगलाको खाडी वा अरब सागरमा सामुन्द्रिक आँधी बनेमा मात्र त्यसबाट प्रवाह हुने वायुले पानी पर्ने सम्भावना रहने मौसमविद् कँडेलले बताइन्। यद्यपी, उक्त सम्भावना तत्काल नदेखिएको उनले बताइन्।





