पर्यटन तथा व्यापार मेला हुने

कञ्चनपुर– कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ ।

‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा, गार्मेन्ट, सूचना प्रविधि, औद्योगिक उत्पादन र मेशिनरीलगायतका सामग्री मेलामा राखिने छन् ।

१५० स्टल रहने मेलामा धार्मिक, ऐतिहासिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार, थारू संस्कृति, मौलिक परिकारलगायत मेलाका आकर्षणका रूपमा रहने बेलौरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष टेकबहादुर साउदले बताए।

महोत्सवको माध्यमबाट बेलौरी छोटी भन्सारको स्तरवृद्धि, ग्रिन क्लिन सिटीको विकास र उद्योग स्थापना गर्न सघाउ पुग्ने उनले बताए । मेलाका लागि १५१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिलाई सघाउ पु¥याउन अन्य २२ उपसमिति गठन गरिएको छ ।

मेलामा रु चार करोडको कारोबार हुने अनुमान गरेका छौँ, सङघका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भने, “नेपाल भारतका गरी एक लाख बढीले मेलाको अवलोकन गर्ने अनुमान छ ।” रासस

ताजा समाचार

सम्बन्धित समाचार