काठमाडौं– दशैं अवधिभर सार्वजनिक यातायातमा क्युफ्रि गरिने भएको छ।
रुटपरमिटको आधारमा मात्र यातायातका साधन गुडाउन पाउने व्यवस्था रहेकोमा दसैंका लागि भन्दै यातायात व्यवस्था विभागले २४ असोजदेखि ३१ सम्म देशभर क्युफ्री गरेको हो। सो अवधिमा सार्वजनिक यातायातले जुनसुकै रुटमा पनि यात्रु ओसारपोसार गर्न पाउने विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए।
विशेषगरी दसैंको समयमा राजधानी काठमाडौंबाट बाहिर जाने यात्रुको संख्या अत्यधिक हुन्छ। ट्राफिक प्रहरीका अनुसार दसैं मनाउन उपत्यकाबाट २० लाखभन्दा बढी यात्रु बाहिरिने गर्छन। रुटफ्रिका बेला उपत्यकाभित्र चल्ने यात्रुवाहक सवारीलाई बाहिर यात्रु बोक्ने बाटो खुल्ने भएकाले केही सहज हुने उनको अनुमान छ।
यसैगरी, नारायणघाट–मुग्लीन सडकखण्डमा ट्राफिक जाम बढेपछि सरकारले मोटरसाइकल कार लगायत सवारी बोक्ने मल्टिएक्ली ट्रायक्टर टेलरलाई नारायणघाटदेखि काठमाडौंसम्म प्रवेशमा रोक लगाएको छ। अब ती टेलरहरु असोज ३१ गते पछि मात्रै काठमाडौं प्रवेश गर्न पाउनेछन् ।





