काठमाडौं– सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिका–२ स्थित तेघरी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा बनाउने निर्णय भएकोमा संघ सरकारबाट स्वीकृति गराउने तयारी गरिएको छ।
विशेष सुझाव समितिले सुदूरपश्चिमको राजधानी गोदावरीमा बनाउन गरेको प्रस्ताव १२ असोजको प्रदेशसभा बैठकले अनुमोदन गरेकोमा अब जग्गा प्राप्तिका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरिएको हो।
‘सुदूरपश्चिमको स्थायी राजधानी बनाउने क्षेत्र सार्वजनिक वनमा पर्छ। विद्यमान कानूनअनुसार संघीय सरकारबाट जग्गा प्राप्तिको स्वीकृत गराउनुपर्ने हुन्छ,’ सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले भने, ‘सोही अनुसार प्रक्रिया अगाडि बढाउछौं।’
सामुदायिक, राष्ट्रिय वनको संरक्षण एवं उपभोगको अधिकार प्रदेश सरकारलाई भएपनि हाल मौजुदा वन ऐन अनुसार वन क्षेत्रको जग्गा प्राप्तिका लागि संघ सरकारको मन्त्रिपरिषद् बैठकबाट निर्णय गराउनुपर्ने हुन्छ। सोही अनुसार संघीय सरकारमा प्रस्ताव पठाउने तयारी गरिएको सुदूरपश्चिम सरकारका प्रवक्ता समेत रहेका शाहले बताए।
तर, चुरेको फेदीमा रहेका वन क्षेत्र नासेर राजधानी बनाउँदा त्यो क्षेत्रमा बस्ती विस्तार झन तीव्र हुने र त्यसले दीर्घकालीन असर पर्ने भन्दै संरक्षणकर्मीहरूले आपत्ति जनाइरहेका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ संघीय सरकारबाट जग्गा प्राप्तिको स्वीकृत भइसकेपछि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) गरिने बताउँछन् । ‘प्रदेश सभाले राजधानी हुने क्षेत्रको निर्णय गरेको मात्र हो। अहिले नै गएर संचना बनाइहाल्ने होइन,’ प्रदेश सभाले गठन गरेको विशेष सुझाव समितिका संयोजक समेत रहेका तामाङले भने, ‘इआइए अनिवार्य हो, गर्नै पर्छ। बाटो बनाउँदा त इआइए गर्नुपर्छ, हामी राजधानी बनाउँदैछौं। त्यहाँको वातावरणीय अवस्थाको अध्ययन नगरेरै कसरी संरचना बन्छ।’
राजधानी बनाउने निर्णय गरिएको क्षेत्रमा २ सय हेक्टर क्षेत्रफलको वनजंगल रहेको र त्यहाँ रूख नभइ बुट्यान मात्र काटिने दाबी गर्दै उनले भने, ‘त्यहाँ राजधानी बनाउँदा मासिने वनको सोधर्नाबापत अन्यत्र बिरुवा रोप्छौं।’
तर, तेघरी सामुदायिक वनका अध्यक्ष मदन शर्मा राजधानी बनाउने निर्णय भएको क्षेत्रमा ३ सय ८० हेक्टर हाराहारीमा वन मासिने बताउँछन्।
संघीय सरकारको वन तथा वातावरण मन्त्रालयका प्रवक्ता सिन्धु ढुंगाना वन क्षेत्रमा राजधानी बनाउने निर्णय औपचारिक रुपमा आइनसकेको बताउँछन्। ‘औपचारिक जानकारी नआइकन केही भन्न मिल्दैन,’ उनले भने।
सुदूरपश्चिम प्रदेशको राजधानी ‘तेघरीस्थित नेपाली सेनाको ब्यारेकदेखि उत्तरपश्चिम, गोदावरी–डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि दक्षिणतिरको चारकिल्ला क्षेत्रमा बनाउने निर्णय भएको हो।





