Friday, September 20, 2024

प्रधानमन्त्रीलाई पूर्ववनमन्त्रीको पत्र : ‘विपत्ति हस्तान्तरण गर्ने अधिकार छ ?’

सम्माननीय प्रधानमन्त्री ज्यु,
गएको साता चर्चित स्तम्भकार भाइ पुरन्जन आचार्य मलाई भेटन आए। कुराकानीको क्रममा प्रमज्यूको कोस्टारिका भ्रमणको औचित्यको प्रसंग उठ्यो।

मैले संक्षिप्त टिप्पणी गर्दै भने, ‘कोस्टारिकाका कतिपय छिमेकी देश बामपंथी उग्रता, लागूऔषध कारोबार र संगठित अपराधका कारण अस्थिर र जर्जर भएका छन् तर, कोस्टारि भने लामो समयदेखि स्थिरता, लोकतन्त्र र सुखी देशका रूपमा परिचित छ। सिक्न खोजे कोस्टारिकाबाट धेरै सिक्न सकिन्छ। सिक्ने अर्थमा भ्रमणको औचित्य हुन सक्ला !’

म आशा गर्छु प्रमज्यूले पक्कै सुन्नु भयो र देख्नु भयो होला– कोस्टारिकाको कृषि अर्थतन्त्र त्यहाँको शिक्षा क्षेत्रमा व्यापक लगानी र शिक्षित जनशक्ति निर्माण, सरकारद्वारा फ्री ट्रेड जोनको स्थापना र करमा छुट दिने नीतिबाट कसरी आधुनिक वित्तीय क्षेत्र, उद्योग र सेवा क्षेत्रमा बढ्दो वैदेशिक लगानी भएको देशमा परिवर्तित हुँदैछ। यो सबै उपलब्धिसँगै सबैभन्दा महत्वपूर्ण कुरा कोस्टारिकाले कसरी आफ्ना वातावरणमैत्री नीतिको दृढ कार्यान्वयनद्वारा वन सम्पदाको संरक्षण, पर्यटन आकर्षण, स्वच्छ ऊर्जा उत्पादन र प्रयोगबाट विश्वलाई प्रेरित गर्नेगरी दीगो वातावरण सम्बन्धी सबै मापदण्ड पूरा गरेको छ। कोस्टारिकाको अधिकांश ऊर्जा उत्पादन जलविद्युत, सौर्य, जिओ थर्मल र बायोमास स्रोतबाट हुन्छ त्यसैले उ सन् २०२१ सम्ममा कार्बन न्यूट्रल देश बन्ने लक्ष्य लिएर वातावरण संरक्षणसहित दिगो विकास नीतिमा हिँडेको छ।

प्रमज्यूले पक्कै देख्नु भयो होला–नेपालको जस्तै कोस्टारिकाका चुनौती पनि उस्तैउस्तै छन्। कसरी ऋणको भार र भुक्तानीलाई उचित सीमामा राख्ने ? कसरी बजेट घाटा नियन्त्रण गर्ने, सार्वजनिक क्षेत्रको दक्षता र सेवा कसरी बढाउने अनि पूर्वाधार संरचना कसरी आधुनिक बनाउने ?

सम्माननीय प्रधानमन्त्री ज्यू, तपाईँ वातावरण संरक्षण र दिगो विकासको नमूनाझैं बनेको देशको भ्रमणमा रहेकै बेला हाम्रो आफ्नो देश नेपालमा भने वन सम्पदा र चुरे क्षेत्रमा जैविक विविधताको व्यापक विनाश हुने विकास बहस अगडि बढेको थियो। प्रमज्यू ! चुरे क्षेत्र हाम्रो पर्वतीय प्रणालीको सबैभन्दा कमजोर जड संरचना भए पनि लाखौं नेपालीको दिगो जीवन स्रोत हो। नेपालको आधाभन्दा बढी जनसंख्या चुरे र यसले तत्काल प्रभाव पार्ने तराई–मधेसमा छन् । हाम्रो अन्नबालीको भण्डार, वन वन्यजन्तु, पानी र पशुधन पनि चुरे क्षेत्रमा आश्रित छन्।

कोस्टारिकाको वातावरण मैत्री विकास देखेर फर्कनु भएका प्रमज्यूलाई प्रश्न राख्न चाहन्छु–हाम्रो देशको यो विपुल प्राकृतिक सम्पदा के हाम्रो पुस्ताको मनपरि र एकलौटी भोगको वस्तु हो वा हाम्रा छोरीनाति पुस्ताको समेत अधिकार भएको सम्पदा हो ? के हामीलाई अहिले विकास गर्ने नाममा आफ्नै सन्ततिलाई मरूभूमिकरण, पानीको हाहाकार, व्यापक बसाइँसराइको पीडा र डरलाग्दा विपत्ति हस्तान्तरण गर्ने अधिकार छ र?

सम्माननीय प्रमज्यू, यो भ्रमणबाट आर्जन गरेको अनुभव र ज्ञान वातावरणमैत्री विकास बहसमा, शिक्षित जनशक्ति निर्माणका विषयमा विज्ञहरूसँग अनि प्रतिस्पर्धी दलहरूसँग परामर्श गर्न र यी एजेण्डामा विवेकपूर्ण हस्तक्षेप गर्न अनुरोध गर्दछु। तपाईँको भ्रमण अनुभव विपक्षी दल र आफ्नै दलका नेतालाई भ्रमणको औचित्य पुष्टि गर्न ओठे जवाफमा सीमित नबनोस्।

सादर शुभेच्छासहित जय नेपाल !
महेश आचार्य
पूर्वमन्त्री
केन्द्रीय सदस्य, नेपाली कांग्रेस

(साभारः आचार्यको फेसबुकबाट। उनी पूर्ववनमन्त्री हुन्।)

ताजा समाचार

सम्बन्धित समाचार