प्रशोधित पानी नै मापदण्डविपरीत, दुई पानी उद्योगमा शिलबन्दी

काठमाडौं–सरकारले मापदण्डविपरीत पानी उत्पादन गर्न काभ्रे बनेपाका दुई पानी उद्योगमा शिलबन्दी गरेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बनेपास्थित बुद्धल्याण्ड मेलम्ची मिनरल वाटर प्रालि र पञ्च वेभरेज प्रालिमा शिलबन्दी गरेको जनाएको छ।

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार अनुगमनका क्रममा प्रशोधित पानी उत्पादन निर्देशिका मापदण्ड अनुरुप नभएकाले शिलबन्दी गरिएको हो। ती उद्योगले उत्पादन अनुज्ञापत्र नवीकरण नगरेको, जारमा सुरक्षण शिल नलगाएको, प्रशोधन कक्ष सफा नभएको, बोतल तथा जार म्यानुअल फिलिङ गरेको पानी उत्पादनमा रोक लगाएको उनले बताए।

उपभोक्ताले पानीको गुणस्तर राम्रो नभएको भन्दै पटक–पटक गुनासो गरेपछि काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलेखेल,उपभोक्ता अधिकारकर्मी सहितको टोलीले बुधबार ती उद्योगहरुको अनुगमन गरेको थियो।

खानेपानी मन्त्री बिना मगरले भदौ ३० गते ४० वटा बोरिङ र पानी सप्लाई गर्ने ट्यांकरमा अनुगमन गरेकी थिइन्। अनुगमनले ती बोरिङ र पानी सप्लाई गर्ने ट्यांकरले मापदण्डविपरीत पानी बिक्री वितरण गरेको भेटिएको थियो।

विभिन्न अनुगमनका क्रममा पिउने पानीमा गुणस्तरहीन भएपछि मन्त्रालयले त्यस्ता उद्योगलाई कारवाही गर्न तथा अनुगमनलाई अझ प्रभावकारी बनान दिर्नेशन समेत दिएको थियो।

त्यस्तै, भदौ २९ गते महोत्तरीको जलेश्वर नगरपालिका–१२ नैन्ही गाउँमा पिउने पानीमा दिसामा पाइने ब्याक्टेरिया इकोलाई र कोलिफर्म भेटिएको थियो। पानी पिउँदा कोलिफर्मका ३ सय जनालाई झाडापखाला लागेको थियो भने एक बालिका र एक वृद्धा गरी २ जनाको मृत्युसमेत भएको थियो।

ताजा समाचार

सम्बन्धित समाचार