ललितपुर– काठमाडौं महानगरपालिकाले दसैं पर्वलाई लक्षित गरी सरसफाइसँगै शहरी व्यवस्थापन योजना ल्याएको छ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाका अनुसार उक्त योजना अन्तर्गत फोहोर, चौपाया तथा पंक्षीजन्य बजार, बजार अनुगमन, सडक व्यापार, यातायात आवागमन र सहरी सुरक्षा प्राथमिकतामा राखिएको छ।
महानगरका वडाहरूले यसअघि नै सरसफाइ शुरु गरिसकेकोमा महानगरले अभियान नै चलाउने उनले बताए। कोइराका अनुसार पर्वमा चहलपहल हुने, आवागमन बढी हुने तथा स्थानीयमा पर्वको महसुस गराउने ठाउँमा सफाइ थालिएको हो।
‘फोहोरलाई न्यूनीकरण गर्ने, उत्पादित फोहोरलाई निश्चित समय र सवारीमा संकलन तथा ढुवानी व्यवस्था, चौपाया तथा पंक्षीजन्य बजार, सडक व्यापार, यातायात आवागमन र सहरी सुरक्षाका काम प्राथमिकतामा छन्,’ उनले भने।
महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार पर्वमा समयमा सांस्कृतिक प्रयोजनबाहेक खुल्ला स्थान, सडक तथा चौरमा लगेर चौपाया पंक्षी बध गर्ने काममाथि कडा निगरानी गरिनेछ।
वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार अभियान अन्तर्गत सडकमा जम्मा भएको धुलो, पतिङ्गर बटुल्ने, झारपात उखेल्ने काम भइरहेको छ।





