फास्ट ट्रयाकको डीपीआर साढे तीन महिनामै बन्ने

काठमाडौं– राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा कोरियन कम्पनीलाई दिइएको छ।

डीपीआर निर्माण सम्झौतापत्र आदानप्रदान गर्दै नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किह्युन ह्वाङ। तस्वीर साैजन्य : नेपाली सेना।

७६ दशमलव २ किलोमिटर दूरी रहेको फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले एक सय पाँच दिन अर्थात साढे तीन महिनाभित्र डीपीआर तयार गर्ने गरी कोरियन कम्पनी सुसुङ इन्जिनियरिङलाई दिएको हो।

डीपीआर निर्माणको काम ४ कात्तिकबाट शुरु हुने र लागत भ्याटसहित १० करोड १२ लाख ७८ हजार नौ सय २३ रुपैयाँ रहेको नेपाली सेनाले जनाएको छ।

उक्त सम्झौतामा नेपाली सेनाका प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किह्युन ह्वाङले मंगलबार हस्ताक्षर गरेका हुन्।

नेपाली सेनाका अनुसार डीपीआरका लागि आह्वान गरिएको बोलपत्रमा सहभागी १७ कम्पनीमध्ये ‘सर्ट लिस्ट’ मा परेका ६ कम्पनीबाट सुसुङ छनोटमा परेको हो। प्राविधिक उपरथी खाणका अनुसार फास्ट ट्रयाकमा दुईमुखे सुरुङमार्ग बनाइनेछ । सुरुङमार्गको कुल लम्बाइ ६ दशमलव ७ किलोमिटर हुनेछ, भने ८० भन्दा धेरै पुल बन्ने जनाइएकाे छ।

ताजा समाचार

सम्बन्धित समाचार