संगम स्वीट्समा सरकारको शिलबन्दी

काठमाडौं– खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौैको नयाँबानेश्वरमा रहेको संगम स्वीट्सको गोदाम घरमा शिलबन्दी गरेको छ।

विभागका खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वको अनुगमन टोलीले  संगम स्वीट्सको उत्पादन एवं बिक्रीमा पनि प्रतिवन्ध लगाएको हो।

अखाद्य वस्तु बिक्रिवितरण गरेको र उपभोक्ताको न्यूनतम मापदण्ड पनि पूरा नगरेको पाइएपछि गोदाम घरमा शिलबन्दी र होटलमा बिक्रीवितरणमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिवन्ध लगाइएको विभागका खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए।

उनका अनुसार संगमले कपडा चम्काउन प्रयोग हुने प्रतिवन्धीत हाइड्रो ए वान नामक केमिकल मिठाइमा प्रयोग गरेको पाइएको छ। मिठाइलाई चमक दिने उक्त केमिकल स्वास्थ्यका लागि निक्कै हानिकारक रहेको विभागका प्राविधिक सहायक नवराज आचार्यले बताए। उक्त केमिकल खाद्य वस्तुमा प्रयोग गर्न प्रतिबन्धित छ।

त्यस्तै मिठाइमै ८ वर्ष पुरानो कोकोनट पाउडर समेत प्रयोग भएको अनुगमनका क्रममा भेटिएको अनुमन टोलीले जनाएको छ। उक्त पाउडर उत्पादन भएको मितिले ४ महिनासम्म प्रयोग गर्न उपर्युक्त हुने भएपनि सन २०११ मा बनेको पाउडर अहिलेसम्म पनि प्रयोग गरेको पाइएपछि नष्ट गरी उत्पादनमा प्रतिवन्ध लगाइएको छ।

संगम शर्माले सञ्चालन गरेको संगम स्वीट्सलाई खाद्य प्रविधि ऐन अनुसार कारवाही हुने र मुद्दासमेत चलाउन सकिने विभागले जनाएको छ। स्वीट्सका सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको सुवेदीले जनाए।

ताजा समाचार

सम्बन्धित समाचार