काठमाडौं–नेपाल र दक्षिण कोरियाबीच वन, वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ। कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो।
मंगलबार वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतसँगको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस सिकले सहकार्यको प्रस्ताव राखेका हुन्। राजदूत सिकले हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न रहेको बताए।
मन्त्री बस्नेतले कोरियाको अनुभव अनुकरणीय हुने भएकाले सहकार्यका लागि तयार रहेको बताए। मन्त्री बस्नेतले भने, ‘हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौं। ‘खर्भरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्यांकले पनि त्यही देखाउँछ।’
वन पैदावारमा आधारित उद्यमशीलता, वातावरणीय पर्यटन प्रवद्र्धन, पानीको स्रोतको पवद्र्धन र कृषि वन जस्ता एजेण्डामा केन्द्रित रहेर कार्ययोजना बनाएको उनले बताए।
उनले नेपालमा वन जंगल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा रहेको बताए। ‘करिब ५४ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको छ,’ उनले भने, ‘अब हामी कार्बनको अन्तर्राष्ट्रिय व्यापार गर्नेबारेमा सोचिरहेका छौं।’





