काठमाडाैं–विश्वमा जलस्रोतको धनी नेपालमा पानीको समग्र जानकारी दिन ज्ञान केन्द्र स्थापना हुनुपर्नेमा जोड दिइएको छ ।
जनस्वास्थ्यका क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था (सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियर्स,सोफेन) र खानेपानी, वातावरण र स्वास्थ्यका क्षेत्रमा काम गर्ने विश्व संस्था ग्लोबल इन्स्टिच्युट अफ वाटर, इन्भाइरोमेण्ट एण्ड हेल्थ नामक संस्थाले संयुक्तरुपमा आयोजना गरेको कार्यशालामा पानी ज्ञान केन्द्र स्थापना गरिनुपर्नेमा जोड दिइएको हो।
कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका कूल सचिव डा सुबोध शर्माले संयुक्त राष्ट्रसंघले निर्धारण गरेका दिगो विकास लक्ष्यमा हस्ताक्षर गरेकाले सबै जनतालाई सुरक्षित, सफा र स्वच्छ खानेपानी उपलब्ध गराइनुपर्ने बताए।
कार्यक्रममा पूर्वमन्त्री गणेश साह, ग्लोबल इन्स्टिच्युट अफ वाटर, इन्भाइरोमेन्ट एण्ड हेल्थका अध्यक्ष डा निदाल सलिम, नेपाल इञ्जिनियर्स एशोसिएसनका अध्यक्ष डा हरेराम श्रेष्ठ, सोफेनका अध्यक्ष रामदीप साहले खानेपानीबाहेक पनि पानीको बहुउपयोगिता रहेको र नेपालको प्राकृतिक सम्पदामध्ये सबैभन्दा महत्वपूर्ण सम्पदा रहेकाले यसको संरक्षण र उपयोगका लागि पनि यस्तो केन्द्र स्थापना गर्न आवश्यक भएको बताए।
योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द देवकोटा, जलवायु तथा मौसम विभागका महानिर्देशक डा ऋषिराम शर्मा, पूर्वऊर्जा सचिव सुमनप्रसाद शर्मा, खानेपानी मन्त्रालयका सहसचिव अजयभद्र खनाल, जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव वीरेन्द्र मिश्रले केन्द्रको आवश्यकताका बारेमा धारणा राखेका थिए।
पानीको सूचना पाउन मात्र होइन, खानेपानी, सिँचाइ, जलविद्युत्, जल यातायात आदिका क्षेत्रमा योजना तर्जुमा, कार्यान्वयन गर्न, पानीलाई अधिक हुने क्षेत्रबाट न्यून हुने क्षेत्रमा लगेर मानवीय आवश्यकता पूरा गर्नुका साथै व्यावसायिक लाभ लिन पनि सजिलो बनाउन केन्द्रको आवश्यकता रहेकामा सहभागीले जोड दिए।
कार्यक्रममा जल तथा ऊर्जा आयोगका वरिष्ठ डिभिजनल इञ्जिनियर महेश्वर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै आयोगले नै नेपालमा पानीका सम्पूर्ण तथ्याङ्क तयार पारी काम गरिरहेको बताउनुभयो । आयोगले नै केन्द्रको नेतृत्व गर्नसक्ने उनको भनाइ थियो। रासस





