पशुपति क्षेत्रका १८ सम्पदाको पुनर्निर्माण, २८ बाँकी

काठमाडौं– १२ वैशाख २०७२ को भूकम्पका कारण क्षतिग्रत बनेका पशुपति क्षेत्रका ४६ सम्पदामध्ये १८ को पुनर्निर्माण सकिएको छ। तीमध्ये १२ वटा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत पुनर्निर्माण भएका हुन्।

योसँगै पुनर्निर्माण भएका सम्पदामध्येको कुलानन्द झा सत्तलको सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ।

आइतबार प्रवेश खुल्ला गरिएको कुलानन्द झा सत्तल, शंकराचार्य मन्दिर, वनकाली सत्तल, गुह्येश्वरी नदी किनारको सत्तल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा पुननिर्माण भएका छन्।

त्यसैगरी, प्राधिकरणको सहयोगमा पन्ध्र शिवालय सत्तल, चौतारिया २ वटा शिवालय, चन्दनपाटी, आमारकान्तेश्वर मन्दिर, सुरेसकान्तेश्वर मन्दिर, कोटिलिङ्गेश्वर मन्दिर, शंकराचार्य मन्दिर र ताराप्रकाशेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

केही मन्दिर तथा मूलभट्ट निवास भने पशुपति क्षेत्र विकास कोषले नै पुनर्निर्माण गरेको छ । त्यसैगरी, रत्ना मास्केको सहयोगमा श्राद्धपाटी राजराजेश्वरीको पुनर्निर्माण भएको छ भने गुरुनानक सोसाइटीले गुरुग्रन्थ मन्दिर पुनर्निर्माण गर्न सहयोग गरेको छ।

यी सम्पदाहरुको पुनर्निर्माणमा १ अर्ब २४ करोड २६ लाख ७० हजार खर्च भएको कोषले जनाएको छ।  पशुपति क्षेत्र विकास कोषका अनुसार अन्य १० वटाको क्षतिग्रस्त संरचनाको पुनर्निर्माण भइरहेको छ भने १८ वटाको काम सुरु हुन बाँकी छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले पुननिर्माण भएका सम्पदा सर्वसाधारणका लागि खुला गर्दै पशुपति क्षेत्रका क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सन्तोषजनक रहेको र पुनर्निर्माण भइरहेका एवं बाँकी संरचनाको छिटो पुनर्निर्माण गर्न कोषका पदाधिकारीहरुलाई निर्देशन पनि दिए।

ताजा समाचार

सम्बन्धित समाचार