काठमाडौं–भक्तपुरलाई सन् २०२२ भित्र पूर्ण सरसफाइयुक्त जिल्ला बनाउने घोषणा गरिएको छ।
खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरले पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र नियमितरुपमा चर्पीको प्रयोग, साबुन पानीले हात धुने, पिउने पानीको सुरक्षित व्यवस्थापन र शुद्धिकरण, व्यक्तिगत सरसफाइ तथा स्वच्छतामा सुधार तथा घरभित्र र बाहिरका फोहरमैलाको उचित व्यवस्थापनलगायतका मापदण्ड पूरा गरेर पूर्ण सरसफाइयुक्त घोषणा गर्ने लक्ष्य लिइएको हो।
भक्तपुरलाई पाँच वर्ष अघि नै खुला दिसामुक्त घोषणा गरिसकिएको छ। सरकारले २०३० सम्ममा मुलुकलाई पूर्ण सरसफाइयुक्त बनाउने लक्ष्य लिएको छ।
जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलालको आगामी पाँच वर्षभित्रमा भक्तपुरलाई पूर्ण सरसफाइयुक्त बनाउने अभियानमा सक्रिय भएर कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे। पूर्ण सरसफाइ रणनीतिक योजना सार्वजनिक भएपछि वडा, नगर र जिल्ला स्तरिय कार्यक्रमहरुमा सरसफाइ अभियानलाई प्राथमिकता दिइने उनले बताए।





