कञ्चनपुर–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का मङ्गलाल चौधरीलाई वनबाट दाउरा ल्याउने झन्झट छैन। ग्यासका सिलिण्डरका लागि चर्को मूल्यसमेत चुकाउनु परेको छैन।
वातावरण सामुदायिक वनको अनुदान रकममा उनले घरमै शौचालय जडित गोबर ग्यास प्लान्ट जडान गरेका हुन्। घरमै पालिएका चौपायाको गोबर उहाँले दैनिक गोबर ग्यास प्लान्टमा राखी त्यसबाट आउने ग्यासबाट खाना पकाउने गर्छन्।
निकै टाढाबाट वन रक्षकको आँखा छिचोल्दै विगतमा दाउरा ल्याउनुपर्ने हुन्थ्यो उनले भने ‘गोबरग्यास प्लान्ट राखेपछि दाउराको झन्झट हटेको छ । भान्सामा सहजै खाना पाक्ने गरेको छ ।’ दाउरा ल्याउने श्रम खेतबारीमा लगाई अतिरिक्त आम्दानी हुँदै आएको उनले बताए। गोबर ग्यासबाट निस्केको मल खेतबारीमा हाल्न थालेपछि बालीनाली समेत सप्रिएको छ,’ उनले भने, ‘विगतको तुलनामा अन्नको उत्पादन बढेको छ ।’
उनीजस्तै सामुदायिक वनबाट अनुदान रकम लिएर गोबर ग्यास र शौचालय बनाएका दिलबहादुर धानुक शौच गर्नका लागि विगतमा वन छेउ, सडक, खेतका आलीमा जानुपर्ने दिन सम्झिँदै भन्छन्, ‘गोबर ग्यासबाट खाना पकाउन सहज भएको छ। शौचालय जडानले खेतका आली र वनमा शौच गर्न जाने दिनको समेत अन्त्य भएको छ।’
घरमै शौचालय भएपछि विगतको जस्तो खुला ठाउँमा दिसापिसाब गर्दा लाग्ने रोगको सङ्क्रमणसमेत नभएको उनको भनाइ छ । सामुदायिक वनका अधिकांश बासिन्दा घरायसी इन्धनका लागि वनमाथिनै निर्भर रहेका थिए स्थानीय प्रकाश धानुकले भने, ‘सबैका घरघरमा गोबर ग्यास र शौचालय जडान भएपछि वनमाथिको निर्भरता हटेको छ । सबै जनाको शौचालयमा शौच गर्ने बानीले वातावरणसमेत स्वच्छ भएको छ।’
दाउराजस्तो गोबर ग्यासमा धुँवा नआउने भएकाले समेत विगतमा गृहणी र बालबालिकामा देखिँदै आएको श्वासप्रश्वासको समस्यासमेत हटेर गएको स्थानीय मीना धामीले बताए। गोबर ग्यासको जडानले स्वस्थ रहन मद्दत पुग्ने बताउँदै उनले भने, ‘गोबर ग्यासको मलले तरकारी खेती र अन्नबालीको उत्पादन बढ्दा आर्थिकरुपमा समेत सवल बनाएको छ ।’
गोबर ग्यासमा गोबरको मात्रा पूरा गर्नका लागि अधिकांश बासिन्दाले उन्नत नश्लका गाई र भैँसीसमेत पाल्न थालेपछि दूध बिक्री गरी आम्दानीसमेत लिन थालेका छन्। वनमा मानव प्रवेशमा कमी आएपछि अतिक्रमणका कारण नासिँदै गएको वन हराभरा मात्रै भएको सामुदायिक वनका कोषाध्यक्ष प्रेमबहादुर धानुकले बताए। ‘जीवजन्तुको आश्रयस्थलका रुपमा परिचितसमेत हुन थालेको छ,’ उनले भने।
सामुदायिक वनले गोबर ग्याससहितको शौचालय बनाउने परिवारलाई दुई हजार अनुदान रकम दिने गरेको छ। दुई हजारमा बाँकी रकम उपभोक्ताले थपेर शौचलय जडित गोबर ग्यास प्लान्ट बनाउने गरेका छन्।
अनुदान रकम पाउने परिवारले गोबर ग्यासमा शौचालय अनिवार्य जडान गर्नुपर्ने सामुदायिक वनले नियम बनाएको छ। गोबर ग्यास र शौचालय बनाउने चारसय बढी परिवारलाई आठ लाख ८४ हजार रकम अनुदानस्वरुप उपलब्ध गराइएको सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले बताए।
अनुदानका लागि अझै तीन दर्जन बढी परिवारले सामुदायिक वनमा निवेदन दिएका छन्। सामुदायिक वनले दाउरा, काठ र बाँस बिक्री गरी उपभोक्तालाई शौचालय जडित गोबर ग्यास प्लान्ट जडानका लागि अनुदान रकम जुटाउने गरेको छ।राजेन्द्र पनेरु/रासस





