आज प्रकाशित पत्रपत्रिकाले वन,सरसफाइ र विकास सम्बन्धी समाचारलाई प्रथमिकताका साथ प्रकाशित गरेका छन् ।
कान्तिपुर
आजको कान्तिपुर दैनिकको पृष्ठ ४ मा ‘नागढुंगा जाम छल्न वैकल्पिक मार्ग’शीर्षकमा हरिहरसिंह राठौरले लेखेको समाचार छापिएको छ ।
हजारौं यात्रुहरूलाई सास्ती दिने नौबिसे–नागढुंगा–कलंकी सडकको सवारी जामलाई कम गर्न वैकल्पिक मार्ग सञ्चालनको तयारी गरिएको छ । दसैं अगाडि राजधानी बाहिरिने देशभरका यात्रुहरूले भोग्नुपरेको घण्टौं सवारी जामको सास्तीलाई न्यूनीकरण गर्न तत्काल वैकल्पिक मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।विकल्पका रूपमा सबैभन्दा सहज हाल निर्माणाधीन धार्के–ठूलोखोला–भीमढुंगा–सीतापाइला सडक तत्काल सञ्चालनमा ल्याइने तयारी अघि बढेको छ । उक्त सडक धार्केदेखि धादिङ ठूलोखोला सम्म १३ किलोमिटर र त्यसपछि भीमढुंगा हुँदै काठमाडौं सीतापाइला सम्म १० किलोमिटर निर्माणाधीन छ । यो सडक १२ मिटर चौडा गरी चालू आर्थिक वर्षमा ग्राभेल गर्न निर्माण कम्पनीलाई जिम्मा दिइसकिएको छ ।
‘सहमति खोज्दै दुई मन्त्रालय’शीर्षकमा अब्दुल्लाह मियाँले लेखेको समाचार छापिएको छ ।निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि १४ सय हेक्टरभन्दा बढी रूख कटान आवश्यक नपर्ने प्रस्ताव वन तथा वातावरण मन्त्रालयले अघि सार्दैछ । पहिले २ हजार ५ सय ५६ हेक्टरका सात लाख रूख काट्ने प्रक्रिया अघि बढाउने प्रस्ताव पर्यटन मन्त्रालयले ल्याएको थियो ।
वन मन्त्रालयको योजना, मूल्यांकन तथा समन्वय महाशाखाका प्रमुख एवं प्रवक्ता सिन्धुप्रसाद ढुंगानाले आफूहरू विमानस्थल निर्माणका लागि बाधक नबन्ने स्पष्ट पारे । ‘विमानस्थल निर्माणका लागि १४ सय हेक्टर भए पुग्ने प्रतिवेदनले औंल्याएपछि एकैपटक धेरै रूख किन काट्न हुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भने, ‘यो विषयमा अब पर्यटनसँग छलफल गर्छौं ।’
‘नुनमा प्लास्टिक !’शीर्षकमा कुसुम बास्तोलाको विचार छापिएको छ ।
हामी नुन स्वादका लागि मात्र खाँदैनौं । यो आयोडिन र सोडियमको भरपर्दो स्रोत हो । मानिसले नुनलाई हजारौं वर्षदेखि खानामा समावेश गर्दै आएका छन् । मानव स्वास्थ्यका लागि भनेर हामीले खाने नुन आफैं भने कति स्वस्थ छ ? सोच्नुपर्ने बेला आएको छ । विभिन्न अध्ययनले नुनमा हानिकारक प्लास्टिकका रासायनिक तत्व फेला पारेका छन ।
नुन समुद्रकै पानीबाट निकालिन्छ । समुद्रमा प्लास्टिक थुप्रिने क्रम बढ्दै जाँदा नुनमा पनि तिनका मसिना टुक्रा मिसिएका हुन् ।
तीन वर्षअघि चीनमा गरिएको अनुसन्धानमा पहिलोपटक नुनमा प्लास्टिक देखिएको थियो । त्यसपछिका अन्य अनुसन्धानले त्यसलाई पुष्टि गरेका छन् । समुद्रमा पुगेका प्लास्टिकका टुक्रा कैयौं वर्षसम्म रहन्छन । सामान्यतया प्लास्टिकजन्य वस्तु कुहिन कम्तीमा ४ सय ५० वर्ष लाग्छ । कतिपय बोतल एक हजार वर्षमा सड्छ ।
छैनन् सार्वजनिक शौचालय,१० महिनामा प्रगति २० प्रतिशत,पर्यटन उकास्न ‘मेची करिडोर’ र एक वर्षमा प्रट्रोलियम पाइपलाइन शीर्षकमा पनि समाचार छापिएको छ ।
अन्नपूर्ण पोस्ट
नेपालमा कृषि प्रविधि सिक्दै विदेशी’ शीर्षकमा तोयानाथ भट्टराईले लेखेको समाचार छापिएको छ । इलाम सदरमुकामबाट १३ किलोमिटर उत्तरमा सञ्चालित ,माईपाखेरी हर्बल एग्रिकल्चर प्रालि । यही फार्ममा क्यानडेली नागरिक क्यालिन तीन सातादेखि नेपाली कृषि प्रविधि सिकिरहेका छन् ।
‘जंगली हात्तीले हैरान’शीर्षकमा राधा खनालले लेखेको समाचार छापिएको छ । झापाको भद्रपुर नगरपालिका ९ र १० का स्थानीय बासिन्दा दुई सातायता जंगली हात्तीबाट आक्रान्त बनेका छन् ।
परिएर एकै घरका तीनको मृत्यु,नगरमा विषादी रोक्न अभियान र विषादी मापन प्रयोगशाला कसको मातहत?शीर्षकमा पनि समाचार छापिएको छ ।
‘जंगली हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु’शीर्षक क्रान्ति शाहले लेखेको समाचार छापिएको छ । जंगल छेउमा रहेका पर्साको ग्रामीण भेगमा जंगली हात्तीको आतंक फेरि बढेको छ। पर्साको ठोरी र पटेर्वा सुगौली गाउँपालिकामा मात्र साउन यता हात्तीको आक्रमणबाट ६ जनाको मृत्यु भएको हो। चितवन राष्ट्रिय निकुन्ज र पर्सा राष्ट्रिय निकुन्ज वन्यजन्तु आरक्षको जंगल छेउमा रहेका ठोरी गाउँपालिकामा पर्ने ठोरी, सुवर्णपूर, शिकारीबास, निर्मलबस्ती र पेटर्वासुगौली गाउँपालिकामा जंगली हात्तीले केही महिनायता फेरि धनजनको क्षति र्पुयाउँदै आएको छ।
राजधानी
‘तिम्बुङ जानेलाई सास्ती’ शीर्षकमा सन्देश सुब्बाले लेखेको समाचार छापिएको छ । व्यवस्थित पदमार्ग बन्न नसक्दा पूर्वको गोसाइकुण्ड उपनामले चर्चित तीर्थस्थल तिम्बुङ पोखरी जाने तीर्थयात्री र पर्यटकले सास्ती खेप्नुपरेको छ ।
ढिस्कोले पुरिएर एकै परिवारका तीनको मृत्यु,उपत्यकाबाट २५ मेट्रिक टन फोहोर व्यवस्थापन,गँड्यौले मलप्रति महिलाको आकर्षण शीर्षकमा पनि समाचार छापिएको छ ।
गोरखापत्र
‘अस्तव्यस्त सडकले हैरानी’ शीर्षकमा समाचार छापिएको छ । आवागमन नै गर्न नमिल्ने गरी नाला र सडक निर्माण कार्य भइरहँदा स्थानीयवासी हैरानी खेप्न बाध्य भएका छन् । यसले गर्दा चाडपर्व सुरु हुने बेलामा नेपालगञ्जको न्यूरोड क्षेत्रको व्यापार–व्यवसाय पनि प्रभावित भएको छ । खासगरी सेतु विक चोक आसपासमा आवागमन पूर्णरूपमा रोकेर चलिरहेको भौतिक पूर्वाधार निर्माणको कामले गर्र्दा त्यस क्षेत्रको व्यवसाय ठप्प भएको छ ।
लामो समयदेखि अवागमन अवरुद्ध हुँदा व्यापार नै शून्य भएको सो क्षेत्रका व्यवसायीहरूको गुनासो छ । उनीहरूले छिटो बाटोको निर्माण पूरा गर्न माग पनि गरेका छन् ।
खानेपानी सुविधाको पहुँच वृद्धि,आकाशे पुल निर्माणका लागि पुनःअध्ययन,वन मासेर राजधानी बनाउँदा स्थानीय चिन्तित,चितवनमा सात पर्यटकीय गन्तव्य थप र उपत्यकाबाट २५ मेट्रिक टन फोहोर व्यवस्थापन शीर्षकमा पनि समाचार छापिएको छ ।
नेपाल समाचारपत्र
‘दशैं मनाउने रहर शोकमा बदलिएपछि’शीर्षकमा समाचार छापिएको छ ।
वर्षात् हटेसँगै विस्तारै दशैंको रौनक शुरु हुन थालिसकेको छ । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटस्थित शिवचरण चौधरीको घरमा दशैंको तयारी कसरी गर्ने भन्ने छलफल चल्यो । छोरी शेमकुमारी, बुहारी निना र बुहारी र माइला छोराकी माइली छोरी रोजिना शनिबार सबैरै घर रंगाउने माटो खन्न हिँडे ।
दोलही खोलाको किनारामा रातो माटो पाइने भएकाले उनीहरु त्यसैतर्फ लागे । माटो खनेर फर्कने समय भए पनि छोरी, बुहारी र नातिनी नफर्केपछि शिवचरण्को मनमा चिसो पसिसकेको थियो– कुनै दुर्घटना त भएन । निनाको सानो चार वर्षीय छोराले आमा खोज्न थालिसकेको थियो तर उनीहरु फर्केनन् । केहीबेरमै उनीहरु माटो खन्ने क्रममा पुरिएको खबर आयो । गाउँलेहरु पुग्दासम्म उनीहरुको निधन भइसकेको थियो । हात्तीसारमा रोपियो कल्कीका विरुवा शीर्षकमा पनि समाचार छापिएको छ ।
नागरिक
‘घर त बन्यो तर बस्नै नमिल्ने’शीर्षक रमेश खतिवडाले लेखेको समाचार छापिएको छ ।
सडक किनारमा रहेका बस्तीभरि एकनासे घर बनेका छन्। एकतले ढलान घरमा दुई कोठा मात्र छन् । भान्सा भनेर छेउमा एउटा साँघुरो कोठा बनाइएको छ। टाढाबाट झट्ट हेर्दा चिटिक्क देखिए पनि भित्र पसेपछि थाहा हुन्छ यी घर बनाउँदा कतिसम्म लापरबाही गरिएको छ भन्ने कुरा।
चार महिनाअगाडि ढलान सकिएका बस्तीभरिका घरहरू अहिले त्यसै अलपत्र छन्। वर्षाका बेला छतबाट चुहिएको पानीले भिजेका कोठा तथा भित्ता अझै चिसा छन्। लामोसाँघु–जिरी सडक किनारमा झन्डै २ हजार २ सय मिटरको उचाइमा रहेको दोलखास्थित लाकुरीडाँडाको यो क्षेत्रमा अहिले पनि फाट्टफुट्ट वर्षा भइरहेका कारण छतबाट घरका कोठाहरूमा पानी चुहिने क्रम जारी छ ।
‘सम्पदा निर्माणका लागि स्थानीय कालिगढ’शीर्षकमा भगवती लामाले लेखेको समाचार छापिएको छ ।विदुर नगरपालिका–२ का अर्जुन शाही आफ्नै पौरखले साततले दरबार निर्माण गर्न पाइन्छ भनेर ढुंगा काट्ने सीप सिकिरहेका छन्। दरबार निर्माण गर्नलाई आवश्यक पर्ने कामदार स्थानीय स्तरमा नै उत्पादन गर्ने उद्देश्यले पुरातत्व विभागको आयोजनामा कालिगढ तालिम भइरहेको छ। तालिमले हातमा भएको सीपमा तिखार्नुका साथै साथै ऐतिहासिक महत्व बोकेको सम्पदामा आफ्नो कलाकौशल प्रस्तुत गर्न पाइने भएपछि शाही झनै उत्साहित छन्।
दसैंअघि नै सबै ग्रामिण सडक बनाइने शीर्षकमा पनि समाचार छापिएको छ ।
अभियान दैनिक
‘करीब ३ लाख घरको पुनर्निर्माण’शीर्षकमा समाचार छापिएको छ । भूकम्पपछि पुनर्निर्माण शुरू भएका ५ लाख ५५ हजार ६ सय १२ निजी घरमध्ये करीब ३ लाख घरको पुनर्निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सूचना प्रणालीमा समावेश तथ्याङ्कअनुसार २ लाख ९६ हजार ५ सय १४ घरको पुनर्निर्माण सम्पन्न भएको हो । यसमा बाँकी २ लाख ५९ हजार ९८ घर पुनर्निर्माण भइरहेको प्राधिकरणले जानकारी दिएको छ ।
भूकम्पबाट कम प्रभावित १८ जिल्लाका तथ्याङ्क प्राप्त हुन बाँकी रहेकोले पुनर्निर्माण भएका घरको सङ्ख्या करीब साढे ३ लाख पुगेको प्राधिकरणको अनुमान छ । प्राधिकरणका प्रवक्ता पीताम्बर घिमिरेले स्थानीय तहलाई दिइएको जिम्मेवारी र केही समयमा स्थानीय तहमा पठाइने वरिष्ठ इञ्जिनीयरसहितको प्राविधिक सहयोगबाट बन्दै गरेका घरहरूको पुनर्निर्माण दशैंतिहारपछि हुने बताए ।





