ललितपुर– काठमाडाैं महानगरपालिकाका वडाहरूले दसैंलार्इ लक्षित गरेर सरसफाइ शुरु गरेका छन्। पर्वमा चहलपहल हुने, आवागमन बढी हुने तथा स्थानीयमा पर्वको महसुस गराउने ठाउँमा सफाइ थालिएकाे जनाइएकाे छ।
वडा नम्बर ११ का अध्यक्ष हीरालाल तण्डुकारका अनुसार अभियान अन्तर्गत सडकमा जम्मा भएको धुलो, पतिङ्गर बटुल्ने, झारपात उखेल्ने काम गरिनेछ। ‘यसरी सफाइ गर्दा एकातिर सुन्दरता बढाउँछ, अर्कोतिर स्थानीयमा जथाभावी फोहोर फाल्नुहुन्न भन्ने भावना जगाउँछ। यसबाट धुँवा धुलोमा न्यूनीकरण हुन्छ,’ उनले भने।
महानगरको सफाइ अभियानमा स्थानीयसँगै प्रहरीकाे पनि सहभागी छ। शनिवार वडा ११ ले थापाथली चोकबाट बबरमहल चोकसम्म पुग्ने भित्री रुटको सफाइ गरियाे।
महानगरले सफाइमा आवश्यक पर्ने सामाग्री तथा उपकरण उपलब्ध गराउने र सफाइपछि काे फोहोरलाई अन्तिम व्यवस्थापन गर्ने गरेको जनाइएकाे छ।
यससँगै चोक तथा गल्लीमा भएका विरुवामा पानी हाल्ने, धुलो भएको ठाउँमा पानी छर्कने, सडक निर्माण तथा पुननिर्माण भएको ठाउँमा पानी हाल्ने कामलाई वातावरण व्यवस्थापन विभागले निरन्तर कामका रुपमा अघि बढाएको महानगरले जनाएकाे छ।





