काठमाडौं–सरकारी तथा निजी एयरलाइन्सहरूले दसैंका लागि हवाई टिकट बुकिङ भैसकेको बताएका छन्।
नेपाल एयरलाइन्सका सूचना अधिकारी ढोलराज पाण्डेयले २४ गतेदेखि दसैंसम्मका लागि सम्पूर्ण टिकट बुकिङ भैसकेको बताए।
‘असोज २३ गतेसम्मका लागि केहि टिकट बाँकी छन्,’ उनले भने, ‘तर त्यसपछि दसैंसम्मका लागि सबै टिकट बुकिङ भैसकेको छ ।’
बद्ध एयरले पनि दसैंका लागि प्रायः सबै टिकट बुकिङ भैसकेको जनाएको छ।
दसंैका बेला उपत्यका बाहिर जाने यात्रुलाई हवाई टिकट पाउन मुस्किल भएको छ, भने हाल टिकटदर पनि महंगो छ।
नेपाल एयरलाइन्स लगायत निजी एयरलाइन्सले दसैंमा हवाई टिकटको मूल्यमा पनि वृद्धि गरेको जनाएका हुन्। एयरलाइन्सहरुले असोज २३ गतेदेखि दसैंसम्म काठमाडौंबाट बाहिरिने यात्रुका लागि सहुलियत भाडादर हटाएका छन्।
अन्य समयमा सबै एयरलाइन्सले काठमाडौंदेखि धनगढी सस्तो टिकट पाँच हजारदेखि पाँच सय सम्म पाउने गरेको थियो। तर, अहिले ९ हजार ८ सयबाट टिकट बुकिङ शुरु भएको टिकट एजेन्सीहरूले जनाएका छन्।





