कैलाशधाममा लिफ्टबाट खानेपानी

कावासोती–नवलपरासीको प्रमुख धार्मिकस्थल कैलाशधाम दाउन्ने मन्दिर परिसरमा सौर्य ऊर्जामार्फत लिफ्टबाट पानी पुर्‍याइएको छ।नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ को सो धाममा खानेपानीको सुविधा नहुँदा समस्या हुँदै आएको थियो।

कैलाशधाममा विनयी त्रिवेणी गाउँपालिकाको रु २५ लाख र धामका सदस्य, पुजारी, बटुकसहित अन्य समाजसेवीबाट चन्दा सहयोग गरी  ४७ लाखकोे लागतमा खानेपानी व्यवस्था गरिएको हो।

गण्डकी प्रदेश र प्रदेश ५ को सीमा दाउन्ने पहाडमा रहेको सो स्थलमा दुई किलोमिटर दूरीको धुञ्चेखोला मुहानबाट पानी ल्याइएको हो। धुञ्चेको मुहानबाट ७७० मिटरको दूरीको शिवपुरी डा“डासम्म तानेर धाम परिसरमा पानी ल्याइएको हो। लिफ्टको प्रयोग भने २८२ मिटर उचाइमा पानी ल्याउन गरिएको छ।

शिवपुुरी डा“डामा २५० वाट क्षमताका १६ वटा सौर्य प्यानल जोडिएको छ। चार हर्स पावरको मोटरले २८२ मिटर तल जमिन सतहबाट पानी तानेर शिवपुरीसम्म ल्याइएको मन्दिरका सल्लाहाकार संयोजक शालिकराम पौडेलले बताए। दाउन्ने बजारबाट करीब ४० मिनेटको उकालो चढेपछि मन्दिर परिसरमा पुगिन्छ।

खानेपानीको सुविधा नहुँदा यहाँ आउने भक्तजन र पुजारीले आकाशको पानी सङ्कलन गरी प्रयोग गर्ने गरेका थिए । परमानन्द सन्या आश्रम ट्रस्ट कैलाशधाम दाउन्नेले गाउँपालिकासँग आग्रह गरी र अन्य सहयोग सङ्कलन गरेर खानेपानीको व्यवस्था गरेको हो।

अझै शिवपुरीको डाँडामा पानी वितरण ट्याङ्की निर्माण गर्नुपर्ने भएपनि बजेट नहुँदा सिधै पानी वितरण गरिएको पौडेलले बताए। दैनिक सयौँ धार्मिक पर्यटक आउने यहाँ भारतबाट समेत पूजाअर्चनाका लागि भक्तजन आउने गर्दछन्। रासस

ताजा समाचार

सम्बन्धित समाचार