काठमाडौं– कैलालीको घोडाघोडी नगरपालिका ४ रामपुरबाट उद्धार गरिएको अजिंगरलाई घोडाघोडी तालमा छोडिएको छ। घोडाघोडी ताल विश्व रामसार सूचीमा सूचीकउत छ।
संरक्षणकर्मी हिरुलाल डंगोराका अनुसार श्रीराम सामुदायिक वनबाट उद्धार गरी ल्याइएको ५६ किलोग्रामको अजिंगर घोडाघोडी ताल क्षेत्रमा छोडिएको हो। उद्धार गरी तालमा छाडिएको उक्त अजिंगर इन्डियन रक प्रजातीको रहेको डंगौराले बताए।
सामुदायिक वनमा मंगलबार च्याउ खोज्न गएका सिताराम चौधरीले उक्त अजिंगर देखेका थिए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले घस्रने वन्यजन्तुको सूचीमा अजिङ्गरलाई सूचीकृत गरेको छ।
बढ्दो जनसङ्ख्या वृद्धि, वन फँडानी, सीमसार क्षेत्रहरुको अतिक्रमण र अत्यधिक प्राकृतिक दोहनले अजिङ्गरको आहारा मात्र होइन वासस्थान नै गुम्ने खतरा बढेको संरक्षणकर्मीहरुको भनाइ छ। नेपाल इन्डियन रक र वर्मिज गरी दुई किसिमका अजिंगरका लागि उपयुक्त वासस्थान रहेको मानिन्छ।





