काठमाडौं– काठमाडौँ उपत्यकाका केही अस्पताल तथा उद्योगले फोहोर पानी प्रशोधन नगेरै सीधैं ढलमा मिसाउने गरेको पाइएको छ।
खानेपानी मन्त्रालयका सूचना अधिकारी टोलराज उपाध्यायका अनुसार वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, पाटन अस्पताल, सेन्ट्रल विजनेस पार्क र वाईवाई चाउचाउ उद्योगले फोहोर पानी सीधैं ढलमा मिसाउने गरेको पाइएको हो।
‘ती अस्पताल, उद्योग र प्रतिस्ठानको फोहोर पानी ढल हुँदै सीधैं बागमतीमा मिसिने गरेको पाइएको छ,’ उनले भने, ‘अस्पतालको पानी घरायसी पानीभन्दा बढी असर गर्छ, जसले गर्दा पानीमा बस्ने जलचर मर्न सम्भावना बढी हुन्छ।’
मन्त्रालयको अनुगमन प्रतिवेदनमा उल्लेख भएअनुसार तीन अस्पताल, उद्योग र प्रतिस्ठानले फोहोर पानी प्रशोधन केन्द्रको स्थापना गरेका छैनन्। जसकारण फोहोर पानी सीधंै ढलमा मिसिने गरेको प्रतिवेदनमा उल्लेख छ।
उपाध्यायका अनुसार ती अस्पताल, उद्योग र प्रतिस्ठानलाई पहिलो पटक सचेत गराइएको छ। खानेपानी मन्त्रालयले ५ असोजमा काठमाडौंका विभिन्न अस्पताल, उद्योगमा अनुगमन गरेको थियो ।





